सीआईबीद्वारा बर्दियाका वलीलाई ललितपुरमा पक्राउ

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो (सीआईबी)ले बर्दियाका दिनेभक्त वलीलाई बिहीबार काठमाडौंबाट पक्राउ गरेको छ ।

बारबर्दिया नगरपालिका– १ जमुनिया स्थायी वतन भई हाल काठमाडौंको नयाँबानेश्वर बस्ने ३४ वर्षीय वलीलाई पक्राउ गरिएको सीआईबीले जनाएको छ ।

वलीले प्रभु बैंक लिमिटेड कोटेश्वर शाखा र एसबिआई बैंक लिमिटेड, नयाँबानेश्वर शाखामा रहेको खाताहरूबाट रकम भुक्तान हुने भनी पर्याप्त मौज्दात रकम नभएको भन्ने जानी–जानी जाहेरवालाहरूलाई झुक्यानमा पारेका थिए ।

चेकको रकम भुक्तान हुन नसकेको ठहर गर्दै उच्च अदालत पाटनले बैंकिङ् कसूरका २ थान मुद्दाहरूमा २०७७ फागुनको १६ र १७ गते फैसला गर्दै वलीलाई बैंकिङ् कसूर तथा सजाय ऐन २०६४ बमोजिमको कसूरमा १२ दिन कैद र तेईस लाख पैसठ्ठी हजार चार सय चौतीस रुपियाँ जरिवाना हुने ठहर गरेको थियो ।

सीआईबीबाट फैसला कार्यान्वयन तथा फरार प्रतिवादीहरूको खोजतलास एवं पक्राउको लागि परिचालित टोलीले वलीलाई ललितपुरको ग्वार्कोबाट पक्राउ गरेको छ ।

वलीलाई फैसला कार्यान्वयनको लागि काठमाडौं जिल्ला अदालतमा पेश गरेको सीआईबीले जनाएको छ ।

Published : Thursday, 2022 April 28, 6:12 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया