निगमको जहाज सिधै रियाद जान थाल्यो, कति छ भाडा ?

काठमाडौं । नेपाल वायु सेवा निगमले साउदी अरेबियाको रियादमा सिधा उडान सुरु गरेको छ ।

निगमको वाइड बडी ए ३३० जहाजले रियादमा शुक्रबारबाट उडान भरेको कार्यकारी अध्यक्ष युवराज अधिकारीले जानकारी दिएका छन् ।

अध्यक्ष अधिकारीले विविध बाधा अवरोधलाई पन्छाउँदै रियादमा ऐतिहासिक उडान सुरु गरिएको बताएका छन् । निगमले हालै रियाद, दमाम र जेद्दामा उडानको अनुमति पाएको थियो ।

रियादस्थित नागरिक उड्डयन कार्यालयको जेनरल अथोरिटी अफ सिभिल एभिएसन्सले त्यहाँका तीनवटा सहर जेद्दा, दमाम र रियादमा दुईतर्फी उडानको अनुमति दिएको थियो ।

निगमले पहिलो चरणमा वैशाख ९ गतेदेखि काठमाडौं–रियाद–काठमाडौं सातामा तीन उडान गर्नेछ ।

काठमाडौं–रियाद गन्तव्यका लागि एकतर्फी भाडादर ३७ हजार कायम गरिएको छ । निगमका प्रवक्ता अर्चना खड्काले हाललाई एकतर्फी भाडादर कायम गरिएको बताएकी छिन् ।

निगमले साउदी अरेबिया उडानका लागि वाइडबडी र न्यारोबडी दुवै जहाजले उडान गर्नेगरी स्लट पाएको छ ।

निगमले सहुलियतपूर्ण भाडादर, यात्रुलाई सुविधा इनफ्लाइट खाना तथा रियादबाट फर्कंदा यात्रुले ४० किलो लगेज सुविधा पाउनेछन् ।

काठमाडौं–रियाद एकतर्फी उडान अवधि छ घण्टा १५ मिनेट हुनेछ । रियाद–काठमाडौं उडान अवधि चार घण्टा ५० मिनेटको हुनेछ ।

रियादको उडानसँगै अब आठ देशका १० गन्तव्यमा नियमित उडान हुनेछ ।

निगमले यसअघि नयाँदिल्ली, मुम्बई, बैंग्लोर, दुबई, दोहा, क्वालालम्पुर, हङ्कङ, बैङ्कक र जापानको नारितामा अन्तर्राष्ट्रिय उडान गर्दै आएको छ ।

Published : Saturday, 2022 April 23, 10:25 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया