नेपाल आयल निगमको कार्यकारी निर्देशकमा थानी नियुक्त

काठमाडौं । सरकारले नेपाल आयल निगम लिमिटेडको कार्यकारी निर्देशकमा उमेशप्रसाद थानीलाई नियुक्त गरेको छ ।

बिहीबार बसेको मन्त्रिपरिषद बैठकले थानीलाई ४ वर्षका लागि निगमको कार्यकारी निर्देशकमा नियुक्त गरेको हो ।

कार्यकारी निर्देशक नियुक्त गर्न गठित सिफारिस समितिले बुधबार थानीसहित ३ जनाको नाम सिफारिस गरेको थियो ।

विशेष आर्थिक क्षेत्र (सेज) कार्यकारी निर्देशक डा. चण्डिकाप्रसाद भट्ट र अवकाश प्राप्त सरकारका सह–सचिव जीवनप्रकाश सिटौलालाई पछि पार्दै थानी निगमको कार्यकारी निर्देशक बनेका हुन् । थानी निगमको ३३औं कार्यकारी निर्देशक हुन् ।

शेरबहादुर देउवा नेतृत्वको सरकारका जनार्दन शर्मा ऊर्जा मन्त्री हुँदा २०७४ सालमा थानी नेपाल विद्युत् प्राधिकरणको सञ्चालक नियुक्त भएका थिए ।

थानी केही वर्ष एभरेष्ट इन्जिनियरिङ क्याम्पसको प्रिन्सिपलका रुपमा रहेका थिए । उनी नेपाल इन्जिनियरिङ एसोसिएसनको महासचिव पनि भएका छन् । थानी इन्जिनियरिङ काउन्सिलको रजिष्ट्रार पनि बनेका थिए ।

Published : Thursday, 2022 March 10, 11:05 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया