अर्थमन्त्री शर्माले प्रहरीलाई गाडी किन्न पैसा दिएनन्, भारतसँग गाडी मागिने

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले नेपाल प्रहरीलाई चुनावमा सुरक्षाका लागि आवश्यक पर्ने गाडी खरिदका लागि पैसा दिन अस्वीकार गरेका छन् ।

प्रहरीले दुई सय गाडी खरिदका लागि बजेट माग गरेको थियो । प्रहरीलाई गाडी किन्न भने बजेट दिन नसकिने अर्थमन्त्री शर्माले जनाएपछि प्रहरी तनाबमा परेको छ ।

भारतसँग केही गाडी अनुदानका लागि कुरा भइरहेको भन्दै अर्थ मन्त्रालयले गाडी खरिद गर्न बजेट नदिएको स्रोतले जनाएको छ ।

भारतले गाडी नदिएमा आवश्यक सवारीसाधन भाडामा लिने तयारी भएको छ ।

गृह मन्त्रालयले निर्वाचनका लागि १७ अर्ब ६० करोड ५५ लाख बजेट माग गरेको थियो ।

अर्थ मन्त्रालयले चुनावका लागि आवश्यक इन्धन, भत्ता र अरू अत्यावश्यक खर्चका लागि मात्र बजेट दिने निर्णय गरेको छ ।

अर्थ मन्त्रालयले निर्वाचन सुरक्षाका लागि सुरक्षा निकायलाई आवश्यक पर्ने बजेट नदिएपछि गृह मन्त्रालय असन्तुष्ट भएको छ ।

Published : Thursday, 2022 March 10, 9:38 am

फेसबुकबाट तपाईको प्रतिक्रिया