ढकालद्वारा वैदेशिक रोजगार व्यवसायी संघको अध्यक्षको पदभार ग्रहण

काठमाडौं । वरिष्ठ व्यवसायी विमल ढकालले नेपाल वैदेशिक रोजगार व्यवसायी संघको नेतृत्व सम्हालेका छन् ।

अध्यक्ष ढकालले बुधबार काठमाडौंको बत्तीसपुतलीस्थित संघको केन्द्रीय कार्यालयमा पदभार ग्रहण गरेका छन् ।

संघमा नयाँ नेतृत्व छिटो ल्याउने गरेर आफू अध्यक्षमा आएको उनले बताएका छन् । ‘संघको साधारण सभा गरेर सबै व्यवसायी साथीहरूसँगको परामर्शमा नयाँ कार्यसमिति छिटोभन्दा छिटो ल्याउन मेरो पहल रहनेछ’, उनले भने, ‘म पदमा रहँदासम्म व्यवसायी साथीहरूको समस्या समाधानमा लाग्नेछु ।’

कोरोना महामारी र अन्य विविध कारणले समयमा अधिवेशन हुन नसकेपछि संघमा नयाँ नेतृत्व आउन सकेको थिएन । संघका अध्यक्ष विष्णु गैरेको कोरोनाकै कारण निधन भएपछि संघ झन् नेतृत्व विहीन हुन पुगेको थियो ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंले संघको साधारण सभा गरेर नयाँ नेतृत्व ल्याउने म्याण्डेटसहित ढकाललाई अध्यक्षको जिम्मेवारी दिइएको छ ।

ढकाललाई संघको अध्यक्ष बनाउन माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी)सहित दल समर्थक व्यवसायीहरूले लिखित रुपमा प्रतिवद्धता जनाएका छन् ।

संघका अध्यक्ष ढकाल नेपाली कांग्रेसका नेता समेत हुन् । ढकाल संघको पूर्वअध्यक्ष समेत हुन् ।

Published : Wednesday, 2022 February 23, 10:57 am

फेसबुकबाट तपाईको प्रतिक्रिया