मन्त्री भुसालकै प्रतिभा सहकारीले ८० लाख फिर्ता गर्न सकेन, पैसा नदिए जेल हाल्ने तयारी

काठमाडौं । उर्जामन्त्री पम्फा भुसाल संरक्षक रहेको प्रतिभा बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले ८० लाख रुपियाँ भुक्तानी गर्न नमानेपछि सहकारी विभागमा लिखित उजुरी परेको छ ।

नेपाल बहुउद्देश्यीय केन्द्रीय सहकारी संघले प्रतिभाविरुद्ध विभागमा लिखित उजुरी दिएको हो । प्रतिभाका अध्यक्ष माधवप्रसाद तिमिल्सिनालाई संघले पटक–पटक सम्पर्क गरेर रकम भुक्तानीको लागि बारम्बार सम्पर्क गर्दा सम्पर्कमा आउन नखोजेको उजुरीमा उल्लेख छ ।

प्रतिभाका व्यवस्थापक केदार तिमिल्सिनासँग संघले सम्पर्क गरेर रकम भुक्तानीका आग्रह गर्दा अध्यक्ष माधवप्रसाद तिमिल्सिनाले भुक्तानी नगर्न भनेर आदेश दिएको उजुरीमा उल्लेख छ ।

संघले २०७८ साल पुस २५ गतेको मितिमा ८० लाख रुपियाँको चेक नं. ००८७७३४७९३ मार्फत भुक्तानी माग गरेको थियो ।

सहकारी विभागका रजिष्टार झलकराम अधिकारीले प्रतिभाका प्रतिनिधिहरूलाई बोलाएर छलफल गरिएको जानकारी दिएका छन् । उनले भने, ‘उहाँहरूसँग छलफल गरेका छौँ । यस विषयमा के भएको हो तीन दिनभित्र विवरण पेश गर्न भनेका छौँ ।’

‘उजुरी हामीसमक्ष परेको छ । प्रतिभालाई बोलाए छलफल गरेका छौँ’, रजिष्टार अधिकारीले भने, ‘यस सन्दर्भमा के भएको हो तपाईहरूले तीन दिनभित्रमा विवरण पेश गर्नु होला । नभएमा कानून बमोजिम कारबाही गर्छु भनेको छु ।’

उनले भने, ‘विवरण माग गरेको दुई दिन भएको छ । उहाँहरूको जवाफ आएपछि हामी अगाडि बढ्छौं ।’

‘रकम लिएपछि फिर्ता गर्नैपर्छ । फिर्ता भएन भने सहकारीभन्दा पनि कानूनका अरु दफा प्रयोग गर्ने हो’, अधिकारीले चेतावनी शैलीमा भने, ‘पैसा फिर्ता भएन भने प्रहरीको सीआईबीसम्म कारबाही जान सक्छ ।’

‘रकम चुक्ताका लागि अदालतसम्म जानुपर्छ । यिनीहरूको लेनदेनको कारोबार भयो । हामीले पनि टोटल कुरामा हस्तक्षेप गर्न सक्दैनौं’, उनले भने, ‘हाम्रा पनि कानून बाध्यताहरू छन् । हामीले सहजीकरण गर्छौं । निर्देशन दिन्छौँ ।’

रजिष्टार अधिकारीले भने, ‘निर्देशन पालना भएन भने कारबाही गर्छौं । त्यति गर्दा पनि टेरेन भने प्रहरीको सीआईबी र अदालतमा जाने हो ।’

८० लाख रुपियाँ नदिएमा जिम्मेवार व्यक्तिहरूलाई सीआईबीले पक्राउ गरेर थुनामा राखेर अनुसन्धान गरेर कारबाही गर्नेसम्मको कानूनी व्यवस्था छ ।

प्रतिभाका अध्यक्ष माधव तिमिल्सिनाले संघलाई ८० लाख नदिएको स्वीकार गरेका छन् ।

तिमिल्सिनाले खातामा जम्मा गरेको ८० लाख रुपियाँ सहज रुपमा दिनुपर्नेमा अन्य बखेडा गरेर निक्षेपकर्ताको पैसा रोकेपछि प्रतिभाव बहुउद्देश्यीय सहकारीमा किन पैसा राख्ने भनेर प्रश्न उठेको छ ।

‘खाता खेलेरै पैसा राखिएको हो । संघको त्यो पैसा फिर्ता दिने हो’, अध्यक्ष तिमिल्सिनाले भनेका छन् ।

प्रतिभा सहकारीले रकम नदिएको भनेर यसअघि पनि निक्षेपकर्ताहरूले आरोप लगाउँदै आएका छन् । प्रतिभाको लगानीका बारेमा पनि बेलाबेला प्रश्न उठ्ने गरेका छन् ।

सहकारीले करोडौं रकम हिनामिना गरेपछि सिभिल सहकारीका इच्छाराज तामाङ थुनामा छन् । सहकारीले निक्षेपकर्ताको पैसा हिनामिना गरेका समाचार आइरहेका बेला प्रतिभा सहकारीले ८० लाख रुपियाँ फिर्ता गर्न नसकेको उजुरी बाहिरिएको छ ।

Published : Wednesday, 2022 January 26, 11:49 am

फेसबुकबाट तपाईको प्रतिक्रिया