एमाले समर्थक ‘टप’ गुण्डा नाइके काठमाडौंमा पक्राउ

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी)ले ‘गुण्डा नाइके’ विकास पुनलाई पक्राउ गरेको छ ।

सोमबार सीआईबीको टोलीले पुनलाई काठमाडौंको सुन्धारास्थित होटल भ्यू ग्लोबलबाट पक्राउ गरेको सीआईबीका निर्देशक (डीआईजी) धिरजप्रताप सिंहले जानकारी दिएका छन् । गुण्डा नाइके पुन एमाले समर्थक हुन् ।

पुन ठगी कसूरका फरार प्रतिवादी हुन् । दाङ जिल्लाको घोराही उप–महानगरपालिका–१५ लालीगुराँस टोलमा स्थायी घर भएका ४१ वर्षीय पुनलाई पक्राउ गरेको विज्ञप्तिमा उल्लेख छ ।

ठगी कसूरअन्तर्गत मुद्दा दर्ता भई फरार रहेका विकास काठमाडौंका विभिन्न स्थानहरूमा लुकिछिपी बसेको सूचनाका आधारमा सीआईबीले पक्राउ गरेको थियो ।

गुण्डा नाइके पुन काठमाडौं महानगरपालिका–११ सुन्धारास्थित होटल भ्यू ग्लोबलमा लुकिछिपी बसिरहेको अवस्थामा फेला परेको डीआईजी सिंहले बताए ।

पुनले प्रयोग गर्दै आएको प्रदेश ३–०१–०२२ च ०११८ नम्बरको गाडी समेत प्रहरीले बरामद गरेको छ ।

विभिन्न मितिमा ज्यान मार्ने उद्योग, हातहतियार तथा खरखजना, डाँका चोरी र कुटपिट कसूरमा समेत संलग्न रहेको खुल्न आएका पुनलाई आवश्यक कानूनी कारबाहीको लागि जिल्ला प्रहरी कार्यालय दाङ पठाइएको उक्त ब्यूरोले जनाएको छ ।

गुण्डा नाइके विकास पुनका अपराधहरू

१. मिति २०६४/११/१३ गते जि. दाङ त्रि.न.पा. वडा नं. १० पुरानो राप्ती नजिकै किशोर के.सी. र प्रविण के.सि. लाई विकाश पुन समेतका व्यक्तिहरुले गोली, खुकुरी लगायतका हातहतियार प्रयोग गरी कुटपिट गरेको कसुरमा सम्मानित दाङ जिल्ला अदालतबाट धरौटी राखी छुटेको ।

२. मिति २०६५/०७/०५ गते जि. दाङ स्थित भ्याली होटलमा विकाश पुन समेतका व्यक्तिहरुले हातहतियार देखाई डाँका चोरी गरेको कसुरमा संलग्न रही फरार रहेको ।

३. मिति २०६९/१०/०७ गते याम बहादुर थापालाई कुटपिट गरी घाईते भएको घटनामा संलग्न रही ज्यान मार्ने उद्योग कसुरमा फरार रहेको ।

४. मिति २०७०/१२/१२ गते जि. दाङ रोल्पा इरिवाड-५ बस्ने पदम चन्दलाई गोली प्रहार गरी गम्भिर घाईते बनाएको घटनामा संलग्न रही हातहतियार तथा खरखजाना कसुरमा फरार रहेको ।

५. मिति २०७३/०८/०६ गते जि. दाङ घोराही न.पा. वडा नं. ११ स्थित लोक बहादुर के.सी.लाई धारिलो हतियार प्रहार गरी घाईते बनाएको घटनामा संलग्न रही ज्यान मार्ने उद्योग कसुरमा फरार रहेको ।

Published : Monday, 2022 January 17, 6:25 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया