प्रतिभा सहकारीले निक्षेपकर्ताको पैसा फिर्ता गर्न सकेन, खाताबाट रकम गायब

जावलाखेल । ललितपुरको थसीखेलमा रहेको प्रतिभा बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले आफ्ना निक्षेपकर्ताको पैसा गायब बनाएको, ठूलो रकम फिर्ता नगरेको आरोप लागेको छ ।

ठूलो रकमका निक्षेपकर्ताले पैसा निकाल्न खोज्दा प्रतिभाले पैसा दिन नमानेको आरोप छ । पैसा झिक्न गएका निक्षेपकर्ताहरूलाई पैसा नदिएर फिर्ता पठाएका एकजना बताएका छन् ।

प्रतिभामा विगत १० वर्षभन्दा लामो समयदेखि निक्षेप राख्दै आएका शशिधर न्यौपानेले आफ्नो १ लाख ५० हजार रुपियाँ गायब बनाइदिएको आरोप लगाएका छन् । पैसा झिक्न गएका बेला प्रतिभा सहकारीले तपाईको पैसा छैन ५/७ हजार मात्रै छ भनेपछि न्यौपाने झल्यास्स भएका छन् ।

प्रतिभासँग उनले आफ्नो पैसा चाहियो भनेर ताकेता गर्दा पनि पैसा दिएको छैन । प्रतिभाका कर्मचारीले विभिन्न बहाना बनाएर न्यौपानेको पैसा दिएका छैनन् ।

कृष्ण सापकोटाले पनि आफ्नो ७५ हजार रुपियाँ प्रतिभाले फिर्ता नगरेको गुनासो गरेका छन् । सापकोटाले रिपब्लिका दैनिकमा कमेन्ट लेखेर ‘मेरो ७५ हजार फिर्ता नगरेको हो’ भनेका छन् ।

प्रतिभालाई लागेको आरोपका विषयमा प्रतिक्रिया लिन दुई पटकसम्म ल्याण्डलाइन फोनमा सम्पर्क गर्दा मुख्य व्यवस्थापक कमलप्रसाद भट्टराई र व्यवस्थापक केदार तिमल्सिना (गुनासो अधिकारी)सँग सम्पर्क हुन सकेन । केदार तिमल्सिनाले कुरै नगरेर फोन उठाएर राखिदिए ।

डिसेम्बर २६ का दिन प्रतिभाको शंकास्पद लगानीका विषयमा रिपब्लिका दैनिकले समाचार सम्प्रेषण गरेपछि सम्पर्कमा आएका निक्षेपकर्ताहरूले आफ्नो पैसा फिर्ता नपाएको गुनासा गरेका हुन् ।

पीडितहरूले प्रतिभाका विषयमा निक्षेपकर्ताहरूले प्रश्न उठाएपछि सरोकारवाला निकायले छानविन गर्नुपर्ने माग गरेका छन् ।

सहकारी विभाग र नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले प्रतिभामाथि अझै अनुसन्धान अगाडि बढाएको छैन । उच्च स्रोतका अनुसार सीआईबीले प्रतिभा सहकारीमात्र नभई देशभरिका लगानी जोखिममा परेका सहकारीहरूलाई निगरानीमा राखिएको जनाएको छ ।

प्रतिभाले ‘बहुआयामिक परियोजनामा लगानी’ भन्ने शीर्षकमा १५ करोड ५७ हजार ५ सय ९४ रुपियाँ लगानी गरेको छ । वार्षिक प्रतिवेदनमा बहुआयामिक भनेको के हो खुलाइएको छैन ।

बहुद्देश्यीय सहकारीले बहुआयामिक परियोजनामा लगानी गर्न पाउँछ । तर, त्यसको विषयमा सम्पूर्ण जानकारी दिनुपर्छ । अधिकांश सहकारीहरूले लगानी गरेको कुरा वार्षिक प्रतिवेदनमा खुलाएका हुन्छन् । तर, प्रतिभाले त्यो खुलाएको छैन ।

बहुआयामिक परियोजनाका नाममा प्रतिभाका कार्यकारी अध्यक्ष माधवप्रसाद तिमल्सिनाले घुमाउरो तरिकाले झण्डै १४ करोड घरजग्गामा लगानी गरेको आशंक निक्षेपकर्ता र सदस्यहरूको छ ।

सदस्यहरूको आशंकाअनुसार प्रतिभाले कानून विपरित लगानी गरेको रहेछ भने त्यो अपराध ठहरिनेछ । सो रकमका विषयमा अनुसन्धान गर्नुपर्ने माग उठेको छ ।

सहकारीको स्थिर पुँजी ६ करोड ९७ लाख १७ हजार ८ सय छ । तर, बाह्य ऋण तथा सापटी २८ करोड १४ लाख २५ हजार ३ सय ५० रुपियाँ १४ पैसा लिएको वासलातमा उल्लेख छ ।

१८ करोड ४८ लाख ९ हजार ४ सय ५९ रुपियाँ ६० पैसा लगानी गरेको देखिएको छ ।

प्रतिभामा माओवादी नेतृ एवम् उर्जामन्त्री पम्फा भुसाल सहकारीमा सल्लाहकार छिन् । मन्त्री नै सल्लाहकार रहेको सहकारीमा लगानी अपारदर्शी रहेको भनेर सेयर सदस्यले आशंका उब्जाएपछि खैलाबैला भएको छ ।

इच्छाराज तामाङले सहकारी डुबाएर सेयर सदस्यहरूको लगानी झ्वाम पारिदिएपछि सहकारीहरूमाथि ठूला आशंकाहरू उब्जिएका छन् ।

मैतीदेवीको मानापाथी त्रिपलएम बहुउदेश्यीय सहकारी संस्था लिमिटेड पनि लगानी डुबेपछि बन्द भएको छ । मानापाथीका अध्यक्ष रामप्रसाद कँडेल महानगरीय प्रहरी प्रभाग सिंहदरबारको हिरासतमा एकहप्तादेखि बन्द छन् । सचिव टीकाराम गौतम फरार छन् । मानापाथीविरुद्ध उजुरी पर्ने क्रम जारी छ ।

Published : Wednesday, 2022 January 5, 12:15 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया