सेफ्टी ट्याङ्कीमा भेटियो मियाँको शव, गोवरले दियो सुराग

दमक । झापा जिल्लामा प्रहरीले ४६ वर्षीय मबेसिर हुसेन मियाँको हत्या अभियोगमा ५ जनालाई पक्राउ गरेको छ ।

गौरादह नगरपालिका–५ मियाँ कात्तिक ११ गते बिहान ११ बजेदेखि हराएका थिए । उनकी पत्नी नुरजन खातुनले कात्तिक १४ गते ईलाका प्रहरी कार्यालय दमकमा पति खोजीपाउँ भनेर निवेदन दिएकी थिइन् ।

प्रहरी नायव उपरीक्षकको कमाण्डमा खटिएको टोलीले मिति कात्तिक २६ गते दिउँसो साढे २ बजे मियाँको घर खानतलासी गरेको थियो ।

खानतलासी लिने क्रममा घरको दक्षिणतर्फको कोठाभित्र गेरु रंगले चारैतर्फको भित्री गारो पोतिएको, कोठाको झ्यालको पल्ला तथा ग्रीलहरूमा रगत जस्तो रातो पदार्थको छिटाहरू देखिएको प्रहरीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

उक्त कोठादेखि दक्षिणतर्फ बाहिर ट्वाइलेटको सेफ्टी ट्यांङ्कीमा गोबरले लिपपोत गरी गोबरको गुईठा बनाई सेफ्टी ट्यांङ्कीमाथि चाङ लगाइएको अनुसन्धानमा खुलेको प्रहरीले जनाएको छ ।

सेफ्टी ट्यांकीको ढकनी छोपिएको भन्दै प्रहरीले उक्त गुईठाहरू हटाई सेफ्टी ट्यांङ्कीभित्र खोजी गर्दा मियाँको शव फेला परेको विज्ञप्तिमा उल्लेख छ ।

मियाँलाई घातक हतियार प्रयोग गरी कर्तब्य गरी मारेर कम्बलमा पोको पारी सोही सेफ्टी ट्यांङ्कीभित्र फालिएको शव दुर्गन्धित अवस्थामा मृत फेला परेको प्रहरीले जनाएको छ ।

घटनास्थलमा शव जाँच मुचुल्का समेतको अनुसन्धान कार्य सम्पन्न गरी मृत पोष्टमार्टमका लागि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको थियो ।

पोष्टमार्टमको कार्य सम्पन्न गरी मियाँको शव सदगतका लागि आफन्तलाई बुझाइएको प्रहरीले जनाएको छ ।

घटनामा प्रयोग भएका घरेलु घातक धारिलो हतियार दाउ, छुरी र घन (मार्तोल) लगायत प्रमाणयोग्य चिजबस्तुहरू बरामद गरिएको छ ।

मियााको हत्या अभियोगमा पक्राउ पर्नेमा गौरादह नगरपालिका–५ बस्ने ३१ वर्षीय महम्मद सद्दाम र उनकी पत्नी सुमेरन खातुन, २६ वर्षीय महम्मद सुलेमान र उनकी पत्नी २२ वर्षीया रुक्सार खातुन, ३८ वर्षीय कुर्समान खातुन रहेको प्रहरीले जनाएको छ ।

Published : Wednesday, 2021 November 17, 8:36 am

फेसबुकबाट तपाईको प्रतिक्रिया