यस्तो हुनेछ खुकुरी रमको नयाँ बोतल

काठमाडौं । खुकुरी रमले आफ्नो नयाँ प्याकेजिङ (प्याक) सार्वजनिक गरेको छ ।

काठमाडौंमा शुक्रबार पत्रकार सम्मेलन गरेर रमको बोतलको आकर्षक लुक्ससहितको नयाँ प्याक सार्वजनिक गरिएको छ ।

खुकुरी रम उत्पादन गर्ने ‘द नेपाल डिस्टीलरिज’ सन् १९५९ मा स्थापना भएको कम्पनी हो । कम्पनी स्थापनाको ६२औं वर्षमा समयको माग र ग्राहकको अपेक्षालाई समेत ध्यानमा राखी कम्पनीले आफ्नो प्याकेजिङ परिवर्तन गरी अझ आकर्षक, विश्वस्तरीय एवम् वातावरणमैत्री रुपमा बजारमा उतारेको विज्ञप्तिमा उल्लेख छ ।

खुकुरी रमले आफ्नो प्याक परिवर्तन गर्नुअघि देशविदेशका ग्राहकहरूमाझ रिसर्च समेत गरेको जनाएको छ ।

नयाँ प्याकेजिङमा नेपाली सम्पदा, मौलिकपन र परम्पराहरू झल्किने गरी विशेषताहरू समावेश गरिएको दाबी गरिएको छ ।

प्याकेजिङ परिवर्तन भए पनि ब्लेण्ड र स्वादमा भने कुनै परिवर्तन गरिएको छैन ।

उही पुरानो स्वाद र आकर्षक प्याकले खुकुरी रमले आफ्ना ग्राहकको मनमा अझ अटूट छाप छाड्न सफल हुने कम्पनीले जनाएको छ ।

खुकुरी रमको पुरानो प्याकको अन्तिम ब्याचका उत्पादनहरू एक महिनाअघि नै बन्द भइसकेका छन् ।

खुकुरी रम नेपालबाहेक १३ देशका बजारमा समेत उपलब्ध हुँदै आएको छ । खुकुरी रमको प्याकेजिङ स्थानीय र अन्तराष्ट्रिय बजारमा एकैसाथ परिवर्तन भएको छ ।

Published : Saturday, 2021 November 13, 8:35 am

फेसबुकबाट तपाईको प्रतिक्रिया