जाजरकोट र बाग्लुङमा ५ थान भरुवा बन्दुक बरामद

जाजरकोट । जाजरकोट जिल्लामा प्रहरीले २२ वर्षीय मनोज शाही र २९ वर्षीय नवीन शाहीलाई चार थान भरुवा बन्दुकसहित पक्राउ गरेको छ ।

शिवालय गाउँपालिका–६ सुङ्गुरखाली रिसिना नवीन र मनोजलाई भरुवा बन्दुकसहित बिहीबार बिहान प्रहरीले पक्राउ गरेको जनाएको छ ।

अस्थाई प्रहरी पोष्ट थला रैकरबाट खटिएको प्रहरीले नवीनलाई शिकार खेल्दै गरेको अवस्थामा १ थान भरुवा बन्दुकसहित पक्राउ गरेको विज्ञप्तिमा उल्लेख छ ।

नवीनकै घरबाट १ थान भरुवा बन्दुक पनि बरामद भएको छ । मनोजको घरगोठ तलासी गर्दा १ नाल भरुवा बन्दुक बरामद भएको छ । मनोजकै घरपछाडि ओडारमा राखेको थप १ थान भरुवा बन्दुक पनि बरामद भएको छ ।

उता, बागलुङ जिल्लाको बडीगाड गाउँपालिका–५ कुलिङ सामुदायिक वनमा लुकाई राखेको अवस्थामा एकनाले भरुवा बन्दुक बिहीबार बिहान प्रहरीले बरामद गरेको छ ।

प्रहरी चौकी ग्वालिचौरबाट खटिएको प्रहरीले उक्त बन्दुक फेला पारी बरामद गरेको हो । बन्दुक कसको हो खुलेको छैन ।

Published : Thursday, 2021 October 21, 6:12 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया