कांग्रेस नेता बुढाको रोल्पामा शव भेटियो

रोल्पा । रोल्पा जिल्लामा नेपाली कांग्रेसका नेता ५६ वर्षीय पूर्णबहादुर बुढाको घाँटी काटिएको अवस्थामा शव फेला परेको छ ।

रोल्पा नगरपालिका–६ दार्बाेटका ५६ बुढाको शव आफ्नै घरमा घाँटी काटिएको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी नायब उपरीक्षक नरेशराज सुवेदीले जानकारी दिएका छन् ।

घरमा एक्लै रहेका बुढाको बिहान ११ बजेसम्म ढोका नखुलेपछि ढोका फोरेर हर्दा हत्या भएको अवस्थामा पाइएको सुवेदीले बताएका छन् । प्रहरीले घटनालाई शंकास्पद भनेको छ ।

घटना शङ्कास्पद भएकाले थप अनुसन्धानका लागि नेपालगञ्जबाट कुकुरसहितको टोली रोल्पा बोलाइएको छ ।

बुढा कांग्रेसको क्रियाशील सदस्य रहेको रोल्पा कांग्रेसका कार्यवाहक सभापति किशोरकुमार आचार्यले बताएका छन् ।

साउन २३ गते सम्पन्न नेपाली कांग्रेसको वडा अधिवेशनबाट बुढा क्षेत्रीय प्रतिनिधिमा छनोट भएका थिए ।

श्रीमतीको केही समयअघि मृत्यु भइसकेको र छोराछारीहरू वैदेशिक रोजगारीमा रहेकाले बुढा एक्लै बस्दै आएका थिए ।

Published : Tuesday, 2021 October 12, 1:19 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया