कांग्रेस सह–महामन्त्री डा.महत र भाजपाका महासचिव सिंहबीच भेटवार्ता

काठमाडौं । नेपाली कांग्रेसका सह–महामन्त्री डा.प्रकाशशरण महत नेतृत्वको टोलीले भारतीय जनता पार्टी (भाजपा)का महासचिव अरुण सिंहसहितका नेताहरूसँग भेटवार्ता गरेको छ ।

शुक्रबार नयाँदिल्लीस्थित भाजपाको मुख्यालय कांग्रेस नेताहरूले भाजपाका नेताहरूसँग दुई मुलुकबीचको सम्बन्धका विषयमा छलफल गरेका हुन् ।

त्यस क्रममा नेपाली कांग्रेस र भाजपाबीचको सम्बन्धलाई अझै प्रगाढ बनाउने विषयमा पनि छलफल भएको पूर्वपरराष्ट्रमन्त्री समेत रहेका सह–महामन्त्री डा.महतले बताएका छन् ।

‘नेपाली कांग्रेस र भाजपा दुई सत्तारुढ दल हुन् । भाजपाको निमन्त्रणामा हामी भारत भ्रमणमा आएका हौँ’, डा.महतले भने, ‘नेपाल र भारतबीचको सम्बन्धलाई अझै मजबुद बनाउने विषयमा सम्वाद भएका छन् । नेपालको पछिल्लो अवस्थाका विषयमा हामीले जानकारी गराएका छौँ ।’

भेटवार्तामा भाजपाका महासचिव अरुण सिंह, सांसद समेत रहेका भाजपाका प्रवक्ता सुधांशु त्रिवेदी, सांसद एवम् युवा मोर्चाका महासचिव राजु विष्ट, भाजपाको विदेश विभागका प्रमुख डा.विजय चौथाइवाले लगायतका नेताहरूको उपस्थिति रहेको थियो ।

कांग्रेसको तर्फबाट सह–महामन्त्री डा.महत, केन्द्रीय सदस्य अजय चौरसिया र पूर्व राज्यमन्त्री उदयशम्शेर राणाको उपस्थिति रहेको थियो ।

भाजपाको विदेश विभागका प्रमुख चौथाइवालेको निमन्त्रणामा कांग्रेसका सह–महामन्त्री डा.महत नेतृत्वको टोली बिहीबार नयाँदिल्ली प्रस्थान गरेको थियो ।

Published : Friday, 2021 October 8, 5:14 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया