को–को बने मन्त्री ? खाण बने वरिष्ठ मन्त्री, श्रेष्ठ प्रधानमन्त्री कार्यालय पुगे

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले गृहमन्त्री बालकृष्ण खाणलाई दोस्रो वरीयतामा राखेर मन्त्रिपरिषद विस्तार गरेका छन् ।

शुक्रबार देउवाले ३ राज्यमन्त्रीसहितको मन्त्रिपरिषद बनाएका हुन् । देउवाको मन्त्रिपरिषदमा कसैलाई पनि उप–प्रधानमन्त्री बनाइएको छैन ।

देउवाले सांसद नै नरहेका गजेन्द्र हमाललाई उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री बनाएका छन् । हमाल विगतमा बाँके कांग्रेसको सभापति थिए ।

लामो समयदेखि कांग्रेसको राजनीतिमा निस्क्रिय हमाल प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराका जेठान हुन् । जबराको भागमा हमाल मन्त्री बनेको चर्चा छ ।

नेपाली कांग्रेसका सभापति देउवा असार २९ गते प्रधानमन्त्री भएका थिए । उनले झण्डै तीन महिनामा मन्त्रिपरिषदलाई पूर्णता दिएका छन् ।

देउवाले स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री रहेका उमेश श्रेष्ठलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा राखेका छन् । श्रेष्ठको मन्त्रालय तोकिएको छैन ।

कानून, न्याय तथा संसदीय व्यवस्थामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीको जिम्मेवारी हेरफेर गरेर सञ्चार, सूचना तथा प्रविधि मन्त्रालयमा पठाइएको छ ।

यसअघि एमालेका अध्यक्ष खड्गप्रसाद ओली प्रधानमन्त्री हुँदा चार जना उप–प्रधानमन्त्री बनाएका थिए । देउवाले यस पटक उप–प्रधानमन्त्री बनाएनन् । ओलीले ईश्वर पोखरेल, विष्णु पौडेल, रघुवीर महासेठ र राजेन्द्र महतोलाई उप–प्रधानमन्त्री बनाएका थिए ।

Published : Friday, 2021 October 8, 4:19 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया