बाराका किसानलाई मेगा बैंकको कृषि कर्जा तथा वित्तीय साक्षरता कार्यक्रम

काठमाडौं । मेगा बैंक नेपाल लिमिटेडले परम्परागत कृषि प्रणालीलाई आधुनिकीकरण गरी व्यवसायिक रुपमा कृषि कार्य गर्न रौतहट र बारा जिल्लाका किसानहरूलाई कृषि कर्जा तथा वित्तीय साक्षरताका सम्बन्धमा अभिमुखीकरण कार्यक्रम गरेको छ ।

मेगा बैंकले उर्बर नेपाल पब्लिक लिमिटेडसँगको सहकार्यमा वारा जिल्लाको महागढीमाई नगरपालिकाका किसानहरूलाई वित्तीय साक्षरता कार्यक्रम संचालन गरी बैंकको ब्याज अनुदानसहितको कृषि कर्जा, वचत, मेगा किसान कार्ड तथा अन्य सेवा सुविधाहरूको बारेमा जानकारी प्रदान गरेको हो ।

बैंकले वित्तीय साक्षरता कार्यक्रममार्फत तरकारी खेती एवम् माछा मासु उत्पादनको पकेट क्षेत्रको रुपमा विकास भएको बाराका जिल्लाको महागढीमाईका किसानहरूलाई ब्यवसायिक भई कृषि कर्जाको उच्चतम सदुपयोग गर्नुपर्ने सम्बन्धमा अन्र्तक्रिया समेत गरेको छ ।

कार्यक्रममा मेगा बैंकका विभगीय प्रमुख पूण्यप्रसाद खनिया, प्रदेश नम्बर २ का प्रमुख यशपालकुमार तिब्रेवाल, वीरगञ्ज शाखाका प्रमुख बेलाल अहमदले बैंकिङ्ग सेवा सुविधा, बचत, ऋण, रेमिटान्स, वचत गर्ने उपाय, वचत तथा ऋणको महत्वकोे बारेमा जानकारी दिए ।

नेपाल कृषिप्रधान देश भएतापनि कृषिमा आत्मनिर्भर नभएको वर्तमान अवस्थामा आधुनिक ढंगले कृषि ब्यवसाय गर्न सके कृषि क्षेत्रमा राम्रो योगदान दिन सकिने र कृषकको आर्थिक जीवनस्तर पनि माथि उठाउन सकिने कुरालाई उनीहरूले जोड दिए ।

उर्वर नेपालसँगको सम्झौतापश्चात मेगा बैंकले ग्रामीण भेगका किसानहरूलाई कृषि उत्पादनमा आवश्यक कर्जा लगानी गर्नको लागि लघु, साना तथा मझौला कर्जा एवम् नेपाल राष्ट्र बैंकको सहुलियतपूर्ण ब्याज अनुदान कर्जा निर्देशिका र बैंकको सहुलियतपूर्ण ब्याज अनुदान कर्जा कार्यविधिको अधिनमा रहि सहुलियतपूर्ण व्यवसायिक कृषि तथा पशुपालन कर्जा प्रदान गर्दै आएको छ ।

मेगा बैंकले कृषकहृलाई किसान कार्ड उपलब्ध गराउँदै आएको छ । किसान कार्डमार्फत कृषकहरूले आफूलाई आवश्यक परेको कृषि सामग्रीहरू, बीऊ, मल, किटनाशक औषधि लगायतका सामानहरू तेकिएको कृषि सहकारी तथा कृषि सामग्री पसलबाट खरिद गर्न सक्नेछन् ।

किसान कार्ड मेगा बैंकले कृषकलाई जारी गरेको पहिलो आधुनिक बैंकिङ्ग सेवा हो, जसले किसानहरूलाई बैंकिङ्ग तथा साना कर्जा कारोवार गर्न सहज र सरल भएको छ ।

कार्यक्रममा उर्बर नेपालका अध्यक्ष सुदर्शन कार्की, उर्बर नेपाल रौतहटाका जिल्ला संयोजक गौरीशंकर पाण्डे लगायतले उर्बर नेपालले किसानहरूको उत्पादन उर्बर बजारमार्फत उपभोक्ता समक्ष पहुँच पुर्‍याउने बताए ।

Published : Wednesday, 2021 October 6, 9:33 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया