डीआईजी सिंहले ‘ठूलो माछा’को कठालोमा हात हाले

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले सिभिल सेभिङ एण्ड क्रेडिट को–अपरेटिभ लिमिटेडका पूर्वअध्यक्ष एवम् एमालेका पूर्वसांसद इच्छाराज तामाङसहितको गिरोहलाई पक्राउ गरेको छ ।

बचत तथा मुद्दती खातामा रहेको कूल ७० करोड ८७ लाख १३ हजार ८ सय २१ रुपियाँ ३२ पैसा रकम संगठित रुपमा सहकारी ठगी गरेको आरोपमा १२ जनालाई पक्राउ गरेको सीआईबीका प्रमुख एवम् डीआईजी धिरजप्रताप सिंहले जानकारी दिए ।

पक्राउ पर्नेहरूमा काठमाडौं कीर्तिपुर ट्याङलाफाँट वतन भएका सिभिल सेभिङ एण्ड क्रेडिट को–अपरेटिभ लिमिटेडका पूर्व अध्यक्ष एवम् एमालेका पूर्वसांसद, सिभिल बैंकका अध्यक्ष ५७ वर्षीय तामाङ रहेका छन् ।

काठमाडौं महानगरपालिका–१६ वतन भएका उक्त को–अपरेटिभका संचालक समितिका अध्यक्ष ६२ वर्षीय केशवलाल श्रेष्ठ, काठमाडौं महानगरपालिका–१२ वतन भएका ६२ वर्षीय सहजकर्ता प्रबन्धक ६२ वर्षीय भगवान बहादुर सिंह, काठमाडौं कीर्तिपुर नगरपालिका–९ वतन भएकी जुनियर असिसटेन्ट मेनेजर ५० वर्षीया मायोनानी महर्जनलाई पनि सीआईबीले पक्राउ गरेको छ ।

भक्तपुर नगरपालिका–११ वतन भएकी जुनियर असिसटेन्ट मेनेजर ४४ वर्षीया एलिना तुलाधर, झापा घर भएका जुनियर अधिकृत ४५ वर्षीय शंकरप्रसाद पाठक, काभ्रे वतन भएका असिसटेन्ट २५ वर्षीय संगित श्रेष्ठ, काठमाडौं कीर्तिपुर नगरपालिका–९ वतन भएका लेखा अधिकृत ३३ वर्षीय राकेश महर्जन पनि पक्राउ परेका छन् ।

काठमाडौ बुढानिलकण्ठ नगरपालिका–६ बस्ने सिन्धुली दुधौली नगरपालिका–७ घर भएका जुनियर सहायक प्रबन्धक ४० वर्षीय बुद्धराज तामाङ, काठमाडौं बुढानिलकण्ठ नगरपालिका–६ वतन भएका जुनियर सहायक प्रबन्धक ३७ वर्षीय कौस्तुभ केतन ढुंगाना, नुवाकोट विदुर नगरपालिका–२ वतन भएका सिभिल होम्सका वरिष्ठ प्रबन्धक ४३ वर्षीय विजय विक्रम शाह र काठमाडौं महानगरपालिका–१४ कलंकी बस्ने मकवानपुर चित्तलाङ घर भएका पूर्व लेखा समिति सदस्य४६ वर्षीय हरिहर लामिछाने रहेको विज्ञप्तिमा उल्लेख छ ।

निक्षेपकर्ता सदस्यहरूले जम्मा गरेको रकम बचत तथा मुद्दती खाताको अवधि पुगीसकेपछि खाताबाट रकम झिक्नको लागि सम्बन्धित संस्थाका कर्मचारी तथा पदाधिकारीहरूलाई पटक–पटक ध्यानाकर्षण गराएका थिए ।

‘नियमानुसार पाउनुपर्ने निक्षेप तथा सोको ब्याज रकम उपलब्ध गराई दिनेतर्फ आवश्यक पहल नगरेको तथा उक्त लिमिटेडमा रहेका सर्वसाधारणको बचतको ठूलो हिस्सा सहकारी ऐन, २०७४ र सहकारी नियमावली, २०७५ को प्राबधान विपरीत एकै व्यक्ति संस्थापक रहेको बिभिन्न परियोजनाहरूमा लगानी गरेको र उक्त लगानीबाट प्राप्त लाभ चरम बेथितिका कारण संस्थाले प्राप्त गर्न नसकी उक्त लिमिटेड जोखिममा रही सहकारी संस्थाबाट कर्जा लगानी भई सम्पन्न गरिएका बिभिन्न परियोजनाहरुबाट निर्माण गरिएका संरचनाहरू बिक्री गर्दा प्राप्त रकम सहकारी संस्थामा नबुझाई विदेशी मुलुकमा समेत लगि सम्पत्ति शुद्दीकरणको कसूर गरेको हुनसक्ने हुँदा सहकारी ऐन, २०७४ को दफा (१२२) बमोजिमको कसूर गरेको देखिन आएकोले उक्त कार्यमा संलग्न उनीहरूलाई केन्द्रीय अनुसन्धान ब्यूरोबाट खटिएको प्रहरीले पक्राउ गरेको हो’, विज्ञप्तिमा उल्लेख छ ।

‘उनीहरू उपर आवश्यक कानूनी कारवाही भइरहेको तथा अन्य निक्षेपकर्ता तथा सर्वसाधरणले को–अपरेटिभबाट निक्षेप तथा ब्याज रकम नपाएको भए कानून बमोजिम आवश्यक थप कारवाहीको लागि समेत सोही ब्यूरोमा सम्पर्क गर्न हुन केन्द्रीय अनुसन्धान ब्यूरोले अनुरोध गरेको छ’, विज्ञप्तिमा उल्लेख छ ।

डीआईजी सिंहको टिमले हाइलेबलका ‘ठूलो’ माछालाई पक्राउ गरेर कारबाही गरेको छ । सानाले मात्रै कारबाही भोग्नुपर्नेर आलोचना भइरहेका बेला सीआईबीले भीआईपीलाई नै पक्राउ गरेको छ ।

Published : Wednesday, 2021 October 6, 10:49 am

फेसबुकबाट तपाईको प्रतिक्रिया