देउवाले सत्तारुढ दलहरूको मन यसरी बुझाए, शीर्ष नेताहरू खुसीले फुरुक्क

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवासहितका शीर्ष नेताहरूले मन्त्रालयको भागवण्डा मिललाएका छन् ।

मंगलबार बालुवाटारमा नेपाली कांग्रेस, माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टी, नेपाल (जसपा)का शीर्ष नेताबीच भएको चार दलका शीर्ष नेताहरूबीच भएको बैठकमा भागवण्डा टुंगिएको हो ।

जसपाका नेता राजकिशोर यादवले कुन दलले कति मन्त्रालय लिने विषयमा सैद्धान्तिक सहमति भएको स्वीकार गरेका छन् ।

कांग्रेसले ८ वटा मन्त्रालय लिनेछ । कांग्रेसले गृह, परराष्ट्र, कानून, न्याय तथा संसदस्य व्यवस्था मन्त्रालय र स्वास्थ्य तथा जनसंख्या मन्त्रालय लिइसकेको छ । कांग्रेसले अब सूचना तथा सञ्चार प्रविधिसहितका मन्त्रालय पाउनेछ ।

माओवादी केन्द्रले ५ वटा मन्त्रालय पाउने भएको छ । माओवादीको तर्फबाट अर्थ र उर्जा मन्त्री बनिसकेका छन् । माओवादीले शिक्षासहितका मन्त्रालयमा दाबी गरेको छ ।

एकीकृत समाजवादीले पाँच मन्त्रालय र एक राज्यमन्त्री पाउने सहमति भएको केन्द्रीय सदस्य मेटमणि चौधरीले जानकारी दिए ।

एकीकृत समाजवादीले रक्षा, शहरी विकास, युवा तथा खेलकुद, संस्कृति पर्यटन तथा नागरिक उडड्यन र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय पाउने सहमति भएको चौधरीले बताए ।

एकीकृत समाजवादीबाट विरोध खतिवडा, मेटमणि चौधरी, रामकुमारी झाँक्री, जीवनराम श्रेष्ठ र प्रेम आले मगर मन्त्री बन्ने सम्भावना छ । एकीकृत समाजवादीले राज्यमन्त्रीमा कसलाई पठाउने भन्नेमा टुंगो लागेको छैन ।

उता, जसपाले भौतिक पूर्वाधार, संघीय मामिला तथा सामान्य प्रशासन, वन र कृषि मन्त्रालय पाएको छ । जसपाले उप–सभामुख पाउने सम्भावना छ । जसपालाई एक राज्यमन्त्री पनि भागमा परेको चर्चा छ ।

कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीले एक÷एक राज्यमन्त्री पाउने सम्भावना छ ।

Published : Tuesday, 2021 October 5, 8:41 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया