काठमाडौं कांग्रेसको दुई नगरमा बाजी पल्टियो, प्रकाशमानलाई ठूलो धक्का

काठमाडौं । नेपाली कांग्रेस काठमाडौं जिल्लाका दुई नगरपालिकाहरूको नतिजामा नेता प्रकाशमान सिंह समूहको लज्जास्पद पराजय भएको छ ।

तारकेश्वर नगरपालिका र नागार्जुन नगरपालिकामा नेता सिंह समूहका सभापतिहरूले हार ब्यहोर्नु परेको हो । दुबै नगरमा सभापति शेरबहादुर देउवा निकटका सभापतिहरूले आकर्षक मतसहित जितेका छन् ।

नेपाली कांग्रेस तारकेश्वर नगर सभापतिमा युवा नेता तथा व्यवसायी कृष्णहरि महर्जन विजयी भएका छन् ।

महर्जन सभापति शेरबहादुर देउवा निकट मानिन्छन् । महर्जनले १३५ मत प्राप्त गरी जित हासिल गरेका छन् ।

नेता सिंहको तर्फबाट सभापतिमा उम्मेदवारी दिएका श्रीराम थापा ११४ मतसहित पराजित भएका छन् ।

नागार्जुन नगरपालिकाको सभापतिमा दुर्गाप्रसाद गौतम १२८ मतसहित विजयी भएका छन् । गौतम देउवा निकटका हुन् ।

गौतमसँग नेता सिंहका सभापतिका उम्मेदवार अच्युत पाण्डे पराजित भएका छन् । पाण्डेले जम्मा ७८ मत पाएका थिए ।

शनिबार काठमाडौंका नगरहरूमा अधिवेशन भएको थियो । काठमाडौंमा नेता सिंहको बर्चश्व रहेको मानिएको थियो । दुई नगरमा नेता सिंहका उम्मेदवारहरू पराजित भएपछि काठमाडौं महानगरसहितका नगरहरूको नतिजा पनि देउवा समूहतिर उल्टिन सक्ने चर्चा छ ।

दुई वटा नगरमा सिंहका सभापतिका उम्मेदवार पराजित भएपछि बाँकी नगरहरूमा पनि पराजय हुने सम्भावना रहेको चर्चा छ ।

Published : Saturday, 2021 October 2, 9:46 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया