कांग्रेसले बहुमत ल्याएर एकल सरकार बनाउँछ : सह–महामन्त्री डा.महत

काठमाडौं । नेपाली कांग्रेसका सह–महामन्त्री डा. प्रकाशशरण महतले आगामी निर्वाचनमा बहुमत ल्याएर पार्टीको एकल सरकार बनाउने प्रतिबद्धताका साथ नागरिकको सेवामा लाग्न आग्रह गरेका छन् ।

शनिबार नेपाली कांग्रेस बुढानीलकण्ठ नगरसमितिको दोस्रो अधिवेशनको उद्घाटन गर्दै सह–महामन्त्री डा. महतले कांग्रेसले अबको निर्वाचनमा बहुमत ल्याएर एकलौटी सरकार बनाउने बताए ।

अहिले कांग्रेसको नेतृत्वमा नयाँ सरकार बनेको भए पनि विभिन्न वैचारिक धरातलमा उभिएका राजनीतिक दलहरूको गठबन्धन सरकार भएकाले प्रधानमन्त्री शेरबहादुर देउवाले फुकीफुकी कदम चाल्नु परेको उनले बताएका छन् ।

सत्ता साझेदार दलहरूको घुर्की, धम्की, अनुनय र विनयका आधारमा चल्ने सरकारबाट कांग्रेसले लिएका नीति, कार्यक्रम र लक्ष्यहरू हासिल हुने गरी सरकारले काम गर्न नसक्ने उनले बताएका छन् ।

सह–महामन्त्री डा. महतले क्रियाशील सदस्यहरू कांग्रेसको जग भएको भन्दै निरन्तर सक्रिय रहन आग्रह गरेका छन् ।

पार्टीको विचार जनतासमक्ष लैजाने जिम्मेवारी क्रियाशील सदस्यको काँधमा रहेको उनले बताएका छन् ।

उनले क्रियाशील सदस्यलाई उम्मेदवार हुने मतदान गर्ने सबै अधिकार रहेको भन्दै राम्रो नेतृत्वलाई मतदान गर्न आग्रह गरेका छन् ।

‘क्रियाशील सदस्यता हल्का रुपमा नलिऔँ’, उनले भने, ‘जोसंग प्रतिबद्धता छ । पार्टी निर्माण गर्ने संकल्प छ । त्यसले क्रियाशील सदस्यता पाएको छ ।’

‘तपाईहरूले पठाएको प्रतिनिधिले प्रदेश र केन्द्रको नेतृत्व चयन गर्दछ’, उनले भने, ‘तपाईहरूले आफ्नो शक्तिलाई बुझ्नुहोस् । यसलाई मनन गरे र अगाडि बढ्नुहोस् ।’

डा.महतले कांग्रेस लोकतान्त्रिक पार्टी भएले देशमा रहेका सबै जातजाति, धर्म, संस्कृति, सभ्यता, पराम्परा, सस्कृतिको संरक्षण र सम्बर्द्धन गर्ने बताएका छन् ।

सह–महामन्त्री डा. महतले लोकतन्त्रले निर्णय गर्ने अधिकार व्यक्तिमा सुम्पिने र आफूमा निहीत क्षमतालाई उजागर गर्न पाइने भन्दै यस्तो स्वतन्त्रता कम्युनिष्ट व्यवस्थामा नहुने बताए ।

उनले कम्युनिष्टहरू कुरा बढी गर्ने काम नगर्ने तर, कांग्रेस काम बढी गर्ने कुरा बढी गर्न नरुचाउने देखिएको पनि बताएका छन् ।

कम्युनिष्टहरूले आफ्नो विचारसँग असहमतलाई सम्मान नगर्ने अनेक प्रोपोगण्डा गरिरहने बताउँदै उनले भने, ‘माओवादी र एमालेले जनतालाई झुक्याइरहेका छन् ।’

कम्युनिष्टहरूको प्रोपोगण्डलाई चिर्न असमर्थ रहेकाले कांग्रेसका कार्यकर्ताले यथार्थ बुझाउन मिहेनत गर्नुपर्ने उनले बताएका छन् ।

उनले कांग्रेसको नेतृत्वमा देशमा २००७ सालदेखि नै क्रान्ति सफल हुँदै आएकोे भन्दै क्रान्तिपछि संविधान निर्माण पनि भएको बताए । उनले त्यसपछि बनेका सरकारले अपूर्व रुपमा काम गरेपनि त्यो कुरा आमनागरिकलाई बुझाउने पक्षमा कमजोरी देखिएको उल्लेख गरेका छन् ।

डा.महतले पार्टीमा अहिले बैचारिक पक्ष कमजोर हुँदै गएको बताएका छन् । त्यसको स्थान व्यक्तिवादी प्रवृत्तिले लिंदै गएकोमा उनले चिन्ता ब्यक्त गरेका छन् ।

Published : Saturday, 2021 October 2, 9:33 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया