हर्सोल्लासका साथ लालीगुराँस सहकारीले मनायो वार्षिक उत्सव, हल्लाको पछाडि नलाग्न अपील

पुल्चोक । ललितपुर जिल्लाको पुल्चोकमा रहेको श्री लालीगुराँस बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले सफलताको २२औं वर्ष पूरा गरी २३औं वर्षमा प्रवेश गरेको छ ।

२३औं वार्षिकोत्सवको अवसरमा संस्थाका अध्यक्ष अमरदास श्रेष्ठले देशको आर्थिक विकासको मेरुदण्डको रुपमा रहेको सहकारी क्षेत्रको समग्र विकास गर्न आगामी वर्षहरूमा थप नयाँ कार्यक्रम र योजना अघि बढाउँदै लैजाने बताए । उनले पछिल्लो समय संस्थाविरुद्ध भएका अनर्गल प्रचारले कुनै असर नपरेको बताए ।

मुख्य कार्यालयमा आयोजित कार्यक्रममा उनले करीव २३ हजार शेयर सदस्यको लगानीमा संचालित संस्थाले आगामी दिनमा प्रगति गर्दै अघि बढ्ने बताए ।

‘संस्था विरुद्ध आउने टिकाटिप्पणी आधारहीन छन् । यसले शेयर सदस्य र संस्थालाई कुनै असर पुगेको छैन’, अध्यक्ष श्रेष्ठले भने, ‘ हामी यो विश्वस्त दिलाउन चाहन्छौ कि जनताको सेवामा समर्पित संस्थाले शेयर सदस्यको सुझाव र सल्लाहलाई सदैभ कदर गर्नेछौं ।’

उनले शेयर सदस्यको अटुट मायाको कारण संस्था थप उचाँमा पुग्न सफल भएको उल्लेख गरेका छन् ।

ललितपुर महानगरपालिका र संस्थाबीच भएको विवाद अदालतबाटै फैसला हुने श्रेष्ठले बताएका छन् ।

‘हामी कानूनविरुद्धमा जाँदैनौँ । महानगरपालिकासंग भएको मुद्धा सम्मानित उच्च र सर्वोच्च अदालतमा विचाराधीन अवस्थामा छ’, उनले भने, ‘कानून अनुसारनै अघि बढ्ने छौँ ।’

दुई दशक लामो इतिहाँस बोकेको संस्थाले काठमााडौंको चाबहिल र न्युरोड, ललितपुरको चापागाउँ, भक्तपुरको कौशलटार र सूर्यविनायक र चितवन जिल्लाको पर्सामा सदस्य सुविधा काउण्टर संचालन गरेको छ ।

गतवर्षदेखि संस्थाले पुल्चोकस्थित मुख्य कार्यालयमा एटिएम सेवा सञ्चालन गरिसकेको छ ।

संस्था अन्तर्गतका विभिन्न क्षेत्रमा करीव ४ सयभन्दा बढी प्रत्यक्ष रुपमा रोजगारी उपलब्ध गराएको संस्था नेपाल वागमती प्रदेशको उत्कृष्ठ संस्थाको रुपमा परिचय बनाउन सफल भैसकेको संस्थाको छ ।

डिभिजन सहकारी कार्यालय ललितपुरमा विक्रम संवत २०५६ साल भदौ १८ गते दर्ता भई विक्रम संवत २०५६ साल असोज १५ गतेबाट कारोबार सुरु गरेको थियो ।

संस्थाको सामाजिक उत्तरदायित्व अन्तर्गत बहुउद्देश्यीय लगानीमा स्वास्थ्य क्षेत्रतर्फ ललितपुरको ताल्छिलेखमा लालीगुराँस हस्पिटल प्रालि, शिक्षाक्षेत्रतर्फ काठमाडौंको नयाँ बानेश्वरमा लालीगुराँस राष्ट्रिय उच्च मावि, कलेज प्रालि, डेरी परियोजनातर्फ चितवनको खैरहनीमा श्री लालीगुराँस डेरी फार्म एण्ड रिसर्च सेन्टर र ललितपुरको गोदावरीमा लालीगुँरास दुग्ध प्रशोधन उद्योग, उर्जा क्षेत्रतर्फ सिन्धुपाल्चोकको लार्चामा भैरबकुण्ड हाईड्रोपावर लिमिटेड लगायत अन्य विभिन्न संघ संस्थामा लगानी गरेको छ ।

संस्थाका सचिव एवम् प्रमुख कार्यकारी निर्देशक सुरेन्द्र भण्डारीले सदस्य सुविधा काउण्टरलाई बृद्धि गरी निकट भविष्यमा देशको विभिन्न जिल्लाहरू र राजधानीको केही उपयुक्त स्थानमा संचालन गर्ने बताएका छन् ।

उनले संस्थाप्रति भएको अनर्गल प्रचारले कुनै असर नपरेको बताएका छन् । सम्पूर्ण शेयर सदस्यको असिम मायाको कारण हालसम्म उत्कृष्ठ सहकारीको रुपमा अग्रणी स्थान हासिल गर्न सफल भएको भण्डारीले बताएका छन् ।

उनले संस्थाको लागानीमा सञ्चालित डेरी उद्योगलाई मुलुककै उत्कृष्ठ उद्योगको रुपमा विकास गर्ने जानकारी दिएका छन् ।

‘संस्थाको २३औं वार्षिकोसवको सुखद् उपलक्ष्यमा हामी हाम्रा सम्पूर्ण शेयरसदस्य महानुभावहरू तथा शुभचिन्तकहरूबाट आगामी वर्षहरूमा समेत सुझाव, सल्लाह तथा सहयोग पाइरहनेमा हामी विश्वस्त रहेका छौं’, भण्डारीले भने, ‘आगामी दिनहरूमा यस संस्थाबाट सदस्यहरूलाई प्रदान गरिने सेवा सुविधा थप प्रभावकारी रुपमा प्रदान गरिने व्यहोरा समेत जानकारी गराउँदछौं ।’

Published : Saturday, 2021 October 2, 12:35 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया