पौडेलद्वारा देउवासँग प्रधानमन्त्री वा सभापति पदबाट राजीनामाको माग, उमेर हदको विरोध

आबुखैरेनी । नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले १४ औं महाधिवेशनमा आफ्नो समूहबाट एकजना मात्रै पार्टी सभापतिको प्रत्याशी बन्ने बताएका छन् ।

तनहुँ जिल्लाको आबुखैरेनीमा शुक्रबार आयोजित कार्यक्रममा पौडेलले पार्टीभित्र नेतृत्वका लागि आकांक्षी धेरै रहेको बताए । उनले आफ्नो समूहबाट एकजना नेता सभापतिमा उम्मेदवार बन्ने बताएका छन् ।

नेता पौडेलले आफ्नो समूहबाट एकजना सभापतिको उम्मेदवार बन्ने बताए पनि को बन्ने हो केही बताएनन् । नेता पौडेल पनि सभापतिका आकांक्षी हुन् । पौडेललाई सभापतिमा आफ्नै समूहबाट असहयोग छ ।

पौडेल समूहबाट शशांक कोइराला, प्रकाशमान सिंह, शेखर कोइरालाले दाबी गर्दै आएका छन् ।

‘हामी पार्टीभित्र आन्तरिक लोकतन्त्रका लागि लडिरहेका छौं’, उनले भने, ‘हामीले अहिलेसम्म मै हुँ सभापति भनिसकेका छैनौं ।’

पौडेलले भने, ‘सामूहिकरूपमा सल्लाह गरेर एकजना सभापतिको उम्मेदवार हुन्छौं भनेका छौं ।’

‘हाम्रो यही सामूहिक भावनाले उम्मेदवार पनि एक हुन्छौं’, उनले भनेका छन्, ‘कांग्रेस पनि एक बनाउँछौं ।’

नेता पौडेलले पार्टीभित्र अल्पमतमा रहेकाले जबर्जस्ती बहुमत पुर्‍याउन खोज्दा क्रियाशील सदस्यताको विवाद बढेको बताएका छन् । पौडेलले सभापति शेरबहादुर देउवाको आलोचना गरेका थिए ।

‘सभापतिजीलाई कांग्रेसमाथि नै विश्वास छैन’, पौडेलले भने, ‘त्यसैले गैरकांग्रेसलाई सदस्यता दिएर भए पनि बहुमत पुर्‍याउँछु भनेर लाग्नुभएको छ ।’

‘पार्टीभन्दा नेता बलियो हुन खोजेकोले आज कांग्रेसमा समस्या बढेको छ’, उनले भनेका छन् ।

नेता पौडेलले कांग्रेसमा प्रवेश गरेका नवप्रवेशी र समायोजन भएर आएका नेता कार्यकर्तालाई क्रियाशील सदस्यता दिएको मन नपरेको संकेत गरेका छन् ।

नेता पौडेलले कांग्रेसमा पुस्तान्तरणको नभएर रुपान्तरण खाँचो रहेको बताएका छन् ।

‘प्रकृतिको नियम हो पुरानो पात झर्छ, नयाँ पात पलाउँछ’, उनले भने, ‘झरेको पातले पनि मल बनेर रुखलाई नयाँ पालुवा दिन्छ ।’

‘भएको पातलाई झटारो हाल्ने कुरा अप्राकृतिक हो’, उनले भने, ‘त्यस्तै कांग्रेसमा पुस्तान्तरण होइन, रुपान्तरणको खाँचो छ ।’

कांग्रेस नेता पौडेलले एमालेले संसद चल्न नदिएर संसद विघटनको औचित्य पुष्टि गर्न खोजेको बताएका छन् ।

‘हिजो बहुमत गुमाएपछि २ पटक संसद भंग गरेको कुरा सही थियो भन्ने देखाउन आज एमालेले संसद चल्न दिएको छैन’, उनले भने, ‘मुद्दा लिएर अदालत गएपछि संसदमा किन अवरोध ?’

पौडेलले राजनीतिक दलभित्र उमेर हदको व्यवस्था अप्राकृतिक र अराजनीतिक रहेको बताएका छन् ।

एमालेमा ७० वर्षे उमेर हद लागू गरिएको सन्दर्भमा नेता पौडेलले केही नेता सिध्याउन र केही नेता जोगाउन उमेर हदको व्यवस्था हुने गरेको बताएका छन् ।

‘एमाले पार्टीले अघिल्लो महाधिवेशनमा ७० वर्षे उमेर हद लगायो’, उनले भने, ‘त्यसबाट एमालेको उपलब्धी के भयो ? उसको उपलब्धी भनेको एमालेभित्रका लोकप्रिय, लोकतान्त्रिक, निष्ठावान् र चरित्रवान् दुईजना नेतालाई सिध्याइयो ।’

उनले भने, ‘भरतमोहन अधिकारी र सिद्धिलाल सिंहजस्ता लोकतन्त्रवादी र इमान भएका नेता सिध्याउन ७० वर्षे लाग्यो ।’

‘उनीहरूलाई पाखा लाएपछि फेरि उमेरको कुरा हरायो’, पौडेलले भने, ‘बलियाले अन्तै लगिहाले कुरा । अहिले फेरि केपी ओली ७० नपुग्दै अधिवेशन भए लागू हुन्छ, ७० पुगे भने फेरि हटाउँछन् ।’

नेता पौडेलले कांग्रेसमा पनि विगतमा एक व्यक्ति एक पदको अवधारणा ल्याएर डा.रामशरण महतलाई राजीनामा दिन लगाइएको भन्दै अरुलाई नियम नलागेको बताएका छन् ।

पौडेलले शेरबहादुर देउवाले एक व्यक्ति एक पद नमानेको बताए । देउवाले बल मिच्याइँ गरेर एक पद एक व्यक्ति नमानेर पेलेर बसेको बताए । पौडेलले सभापति वा प्रधानमन्त्रीमध्ये एक पदबाट देउवाले राजीनामा दिनुपर्ने घुमाउरो भाषाबाट माग गरेका छन् ।

राजनीतिमा उमेर हदको औचित्य नरहेको भन्दै नेता पौडेलले स्वस्थ नेताले मुलुकलाई सधैँ नेतृत्व गर्न सक्ने बताएका छन् ।

Published : Friday, 2021 October 1, 11:35 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया