ओलीको कार्यक्रममा चीनको फोटोकपी, पैसाको ‘खोलो’ बग्यो, यी हुन् एमालेका उत्तराधिकारी

गोदावरी । प्रमुख विपक्षी दल एमालेले कोरोना महामारीका बेला ६ हजारभन्दा धेरै नेता कार्यकर्तालाई ललितपुरमा उतारेर रमिता देखाएको छ ।

एमालेका अध्यक्ष खड्गप्रसाद ओलीले प्रथम विधान महाधिवेशनको नाममा कोरोना महामारीका बेला जात्रा नै गरेका हुन् । ओलीले शुक्रबार गोदावरीस्थित सनराइज हलमा महाधिवेशनको उद्घाटन गरेका छन् । उद्घाटन गरेर आफू भने अस्वस्थ्य रहेको भन्दै घरतिर टाप कसेका छन् ।

६ हजारभन्दा धेरै कार्यकर्ता उतारेका ओली आफू भने अस्वस्थ्य रहेको भन्दै भीडबाट कोरोना फैलिने डरले टाप कसेको आरोप छ । ओलीले राजनीतिक प्रतिवेदन पेश गर्ने क्रममा रुघा, खोकी लागेपछि शंकर पोखरेललाई बोलाएर आफ्नो प्रतिवेदन पढ्न लगाएका थिए ।

ओलीले पोखरेललाई प्रतिवेदन पढ्न लगाएर आफ्नो भावी उत्ताराधिकारीको संकेत पोखरेललाई गरेको चर्चा गोदावरीमा छ । हलभित्र नाचगानका कार्यक्रम पनि भएका थिए । प्रतिनिधिहरू छमछमी नाचेका थिए ।

ओलीलाई युवा संघका कार्यकर्ताले मोटर साइकल र्‍यालीसहित कार्यक्रमस्थलसम्म पुर्‍याएका थिए । मोटरसाइकल चलाएका केही कार्यकर्ताले हेलमेट समेत लगाएका थिएनन् । उनीहरूले ‘केपी बा आई लभ यू’ भनेर नाराबाजी गरेका थिए ।

पार्टीको आगामी नीति तय गर्ने विधान महाधिवेशनमा अध्यक्ष ओली निकै हावी देखिएका छन् । ओलीले प्रस्तुत गरेको राजनीतिक प्रस्तावमा मात्रै होइन सभास्थल बाहिर, भित्र र बाटोमा समेत जताततै ओलीमात्रै देखिएका छन् ।

सनराइज हलको चौरमा कार्ल मार्क्स र एमालेका नेता स्व.मदन भण्डारीका डमी कुनामा राखिएको छ । ओलीको बडेमानको डमी विभिन्न स्थानमा राखिएका छन् । ओलीलाई खुसी बनाउन ‘हनुमान’हरूले कुनै कसर बाँकी राखेका छैनन् । ओलीको चाकढी गर्न आवश्यक पर्ने सबै काम गरिएका छन् ।

महाधिवेशनमा सहभागी हुन आएकाहरूले ओलीको बडेमानको डमीसँग उभिएर फोटो र भिडिओ खिचेर रमाइलो गरेका छन् ।

सभा हलभित्र बाँडिएको पिउने पानीको बोतलमा पनि ओलीकै तस्बिर राखिएको छ । नेता कार्यकर्ताका लागि ओलीले खसी र कुखुराको मासु, भारत, रोटी, तरकारी, खाजाको लगायतको व्यवस्था गरेका छन् ।

ओलीले विधान महाधिवेशन गर्न यती धेरै पैसा कहाँबाट ल्याएका हुन् प्रश्न उठेको छ । महाधिवेशनको खर्च र आफ्नो प्रशंसामा गरिएको तामझाममा ओलीले पानीसरी पैसाको खोलो बगाएको चर्चा छ ।

सातदोबाटोदेखि गोदावरीसम्म सडकछेउमा रहेका बिजुलीका पोल–पोलमा पनि ओलीका तस्बिर टाँगिएको छन् ।

महाधिवेशनको पहिलो दिन शीर्ष नेताहरूको मन्तव्यसहित राजनीतिक, सांगठनिक र विधान संशोधनका दस्तावेज पेश भएका छन् ।

दस्तावेजमा दोस्रो दिन समूहगत छलफल हुनेछ । महाधिवेशनमा अध्यक्षमण्डल तोकिएको छ ।

अध्यक्ष ओली, उपाध्यक्षहरू युवराज ज्ञवाली र अष्टलक्ष्मी शाक्य तथा स्थायी समिति सदस्यहरू रामबहादुर थापा, सुवासचन्द्र नेम्वाङ, सत्यनारायण मण्डल र छविलाल विश्वकर्मा रहेका छन् ।

महाधिवेशन सहज ढंगले सञ्चालन गर्न विभिन्न कमिटीहरू गठन भएका छन् । सचिव युवराज ज्ञवालीले कार्यक्रम सञ्चालन गरेका छन् ।

माओवादीसँगको पार्टी एकता बदर भएपछि र पाँच वर्षसम्म सरकार सञ्चालनको जनमत पाएर पनि तीन वर्षमै सरकार ढलेको अवस्थामा एमालेको विधान महाधिवेशन भइरहेको छ ।

सरकारको नेतृत्व गर्दा दुई पटकसम्म विघटन गरेको संसद सर्वोच्च अदालतले ब्यूँताइदिए पनि एमालेले संसद विघटन सही भन्दै आएको छ ।

ओलीले कार्यक्रमस्थललाई चीनमा कम्युनिस्ट पार्टीले तामझामका साथ सजाए जस्तै गरेर मञ्च र कार्यक्रमस्थललाई रंग्याएका थिए । चीनमा जस्तै मञ्चमा राखिएका पाँच वटा दायाँ र पाँच वटा बायाँतिर रातो झण्डा राखिएका छन् । रातो झण्डाहरूको बीचमा चीनले लोगो राखेको छ । एमालेले पनि चीनले जस्तै लोगो राखेको छ ।

चीनले शुक्रबार ७२औँ राष्ट्रिय दिवस मनाएको छ । संयोगले चीनले जस्तै गरेर एमालेले विधान महाधिवेशन गरेका छ

महासचिव ईश्वर पोखरेललाई चीन निकटको आरोप छ । ओली पनि चीन निकट हुन् कि भन्ने सन्देश गोदावरीमा सजाइएका कुराले संकेत गरेको चर्चा छ ।

शंकर पोखरेललाई पनि चीन निकटको आरोप छ । ओलीलाई शंकरले दिएको गलत सुझावले नै दुईतिहाइको बहुमत पाउँदा पनि साढे तीन वर्षमै सत्ता गुमाउनु परेको थियो ।

संयोग नै मान्नुपर्छ चीनले ७२औँ राष्ट्रिय दिवस मनाएकै दिन एमालेका अध्यक्ष ओलीले ललितपुरमा विधान महाधिवेशन गरेका छन् ।

चीनमा शुक्रबार राष्ट्रिय दिवस मनाइएको छ । सन् १९४९ अक्टोबर १ का दिन चीनमा जनगणतन्त्र स्थापनाको घोषणा गरिएको थियो ।

७२ औं वार्षिकोत्सव तथा राष्ट्रिय दिवसको अवसर पारेर राजधानी बेइजिङलगायत अधिकांश शहर तथा नगरलाई दुलहीझैँ सिँगारिएको छ ।

चीनको राजधानी बेइजिङको थियानमन स्क्वायरमा विशेष कार्यक्रमबीच झण्डोत्तोलन गरिएको छ । चीनले राष्ट्रिय दिवसको अवसरमा तीन दिनसम्म सार्वजनिक बिदा दिएको छ ।

Published : Friday, 2021 October 1, 8:26 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया