भुम्लुमा ‘डन’ बने कांग्रेसको सभापति, काभ्रेको स्थानीय तहमा क–कसले जिते ?

बनेपा । नेपाली कांग्रेस काभ्रेको १३ मध्ये १२ वटा स्थानीय तहमा अधिवेशन सकाएको छ ।

अधिवेशनमा केन्द्रीय सदस्य शिव हुमागाइँको समूहले बर्चस्व कायम गरेको छ । सभापति मधु आचार्य समूहको पत्तासाफ भएको छ ।

पालिका अधिवेशनबाट पूर्व सभापति समेत रहेका नेता हुमागाइँको समूहले स्पष्ट बहुमत हासिल गरेको छ ।

शनिबार भएको १२ वटा स्थानीय तहको अधिवेशनमा नेता हुमागाइँको समूहबाट पनौती नगर सभापतिमा रामशरण भण्डारी, नमोबुद्ध नगर सभापतिमा कुन्साङ लामा सर्वसम्मत भएका छन् ।

भुम्लु गाउँपालिकाको सभापतिमा दावा लामा सभापतिमा सर्वसम्मत भएका छन् । दावा नेपाल तरुण दल काभ्रेका कार्यबाहक अध्यक्ष पनि हुन् ।

दावा नेपाली कांग्रेसको तरुण विभागको बागमती प्रदेशको उप–संयोजक पनि हुन् ।

भुम्लु गाउँपालिकाको सभापतिमा सर्वसम्मत भएपछि दावाले फेसबुकमार्फत हार्दिक आभार प्रकट गरेका छन् ।

‘नेपाली कांग्रेस भुम्लु गाउँपालिकाको सभापति सहित सम्पूर्ण पदाधिकारी एवम् सदस्य पदहरूमा हामीहरूलाई निर्बिरोध निर्वाचित गराउनु हुने आदरणीय वडा सभापति, क्षेत्रीय प्रतिनिधि, अग्रज एवम् सम्मानित ब्यक्ति, कृयाशील सदस्यहरू लगायत लोकतन्त्रमा आस्था राख्ने सम्पूर्ण आमाबुबा दाजुभाई तथा दिदीबहिनीहरूमा हार्दिक आभार धन्यवाद ब्यक्त गर्दछु’, दावाले लेखेका छन् ।

‘यस अवसरमा हामीहरूलाई शुभकामना दिनुभई उत्साह र आत्मविश्वास वढाउनु हुने र विभिन्न शव्द र भावना व्यक्त गरि प्रेरणा प्रदान गर्नु हुने सम्पूर्णमा हार्दिक धन्यवाद दिन चाहन्छु’, दावाले भनेका छन् ।

‘यसबाट हामीहरूलाई भविश्यको यात्रामा निर्भिकतापूर्वक अगाडि बढ्न, गतिशील र चलाएमान संगठन बनाउन ठूलो आत्मवल मिलेको छ’, दावाले फेसबुकमार्फत भनेका छन् ।

विभिन्न आपराधिक गतिविधिमा प्रहरीको मोस्ट वान्टेडको सूचीमा रहेपछि दावा फरार भएका थिए । अघिल्लो लकडाउनका बेला दावा भारतबाट नेपाल छिरेका थिए । प्रहरीले दावालाई अहिले पनि उच्च निगरानीमा राखेको प्रहरीको उच्च स्रोतले जनाएको छ ।

‘डन’ र ‘गुण्डानाइके’को उपाधि पाएका दावालाई कांग्रेसका केही नेताहरूको संरक्षण रहेको छ । दावालाई कांग्रेसका पूर्वसांसद तीर्थ लामाको ठूलो समर्थन र साथ छ । लामाको विगतको छवि गतिलो छैन । लामालाई पनि जुवाडे र डनको आरोप लाग्दै आएको छ ।

रोशी गाउँपालिकाको सभापतिमा दूधराज लामा र चौरीदेराली गाउँपालिका सभापतिमा शेरबहादुर तामाङ सर्बसम्मत निर्वाचित भएका छन् ।

मधु आचार्य प्यानलबाट पाँचखाल नगर सभापतिमा सञ्जय तामाङ र खानीखोला गाउँपालिका सभापतिमा दोर्जे जिम्बा मात्रै निर्विरोध निर्वाचित भएका छन् ।

बेथानचोक गाउँपालिका सभापतिमा मधु आचार्य समूहका मछिन्द्रकुमार लामालाई हुमागाइँ समूहका प्रेमबहादुर तिमिल्सिना विजयी भएका छन् ।

तेमाल गाउँपालिका सभापतिमा आचार्य समूहका हेमलाल लामालाई हराउँदै हुमागाइँ समूहबाट ज्ञानबहादुर लामा विजयी भएका छन् ।

ज्ञानबहादुर तामाङले १४४ मत पाएर विजयी भएका छन् । हेमलाल तामाङ १४ मत मात्रै प्राप्त गरेका छन् । ४ मत बदर भएको छ ।

धुलिखेल नगरपालिकामा पनि हुमागाइँ समूहबाट बिदुरबहादुर बस्नेत नगर सभापतिमा निर्वाचित भएका छन् । आचार्य समूहका मञ्जुकुमार कोजु पराजित भएका छन् ।

धुलिखेलमा बस्नेत १२२ मत पाउँदा कोजुले ८५ मत प्राप्त प्राप्त गतेका थिए । ८ मत बदर भएको थियो ।

बनेपा नगरपालिकामा एकमतको अन्तरले हुमागाइँ समूहका महेशकुमार कर्माचार्य विजयी भएका छन् । आचार्य समूहका शान्तिरत्न शाक्य पराजित भएका छन् ।

महाभारत गाउँपालिकामा अधिवेशन स्थगित गरिएको छ । मतदान अधिकृतले अर्को सूचना जारी नहुँदासम्म निर्वाचन स्थगित गरिएको बताएका छन् ।

Published : Monday, 2021 September 27, 12:25 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया