बुद्ध एयरको जहाजमा भएको के हो ? छानविन गरेर कारबाही हुने

काठमाडौं । त्रिभुवन विमानस्थल अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौंको फ्लाइट अप्रेशन डिपार्टमेन्टका प्रमुख एवम् प्रवक्ता रिञ्जी शेर्पाले बुद्ध एयरको विमानमा भएको प्राविधिक खराबीका विषयमा अध्ययन र छानविन हुने चेतावनी दिएका छन् ।

सोमबार बिहान रिपब्लिका दैनिकसँग कुरा गर्दै प्रवक्ता शेर्पाले भने, ‘बुद्ध एयरको जहाजको ल्याण्डिङ गियर किन खुलेन ? के भएको थियो ? त्यसबारेमा हामीले बुझ्ने छौँ । छानविन हुनेछ । अनुसन्धान गर्छौं । कसको दोष हो छानविन हुन्छ । कारबाही हुन्छ ।’

‘यो विषयलाई बुद्ध एयरले पनि आन्तरिक छानविन गर्नेछ । हामीले पनि छानविन र अनुसन्धान गर्नेछौँ’, प्रवक्ता शेर्पाले भने, ‘सत्यतथ्य बाहिर ल्याइनेछ ।’

सोमबार बिहान काठमाडौंबाट खचाखच यात्रु बोकेर बुद्ध एयरको जहाज विराटनगर उडेको थियो । विराटनगरमा अवतरणका क्रममा जहाजको ल्याण्डिङ गियर (पाङ्ग्रा÷चक्का) समयमा खुलेको थिएन ।

समयमा नखुलेपछि बुद्ध एयरका जहाज काठमाडौं फर्किएको थियो । काठमाडौं फर्कर्ने क्रममा बुद्ध एयरका अप्रेशनका कर्मचारी र पाइलटहरूको संयुक्त प्रयासमा जहाजलाई सकुशल त्रिभुवन विमानस्थलमा नियमित प्रक्रियाअनुसार अवतरण गरिएको प्रवक्ता शेर्पाले जानकारी दिए ।

जहाज विराटनगरबाट फिर्ता भएपछि विमानस्थलमा सबै सुरक्षा सर्तकता अपनाइएको प्रवक्ता शेर्पाले बताएका छन् । उनले बुद्ध एयरको जहाजमा प्राविधिक समस्या भएको भन्दै यात्रुलाई सकुशल अवतरण गराइएको बताएका छन् ।

बुद्ध एयरको जहाज करीव २ घण्टा आकाशमा उडेको थियो । सोही क्रममा जहाजको ल्याण्डिङ गियर मर्मत गरिएको थियो । त्यस क्रममा अन्तर्राष्ट्रिय विमानस्थललाई बन्द गरेर बुद्ध एयरको जहालका लागि ट्राफिक क्लियर गरिएको थियो ।

Published : Monday, 2021 September 27, 11:33 am

फेसबुकबाट तपाईको प्रतिक्रिया