डोल्पा कांग्रेससहित यी पाँच जिल्लाका क्रियाशील सदस्यहरूको सूची सार्वजनिक

काठमाडौं । नगरपालिका र गाउँपालिकाको अधिवेशन धमाधम चलिरहेका बेला नेपाली कांग्रेसले बाँकी रहेका ५ जिल्लाको क्रियाशील सदस्यको सूची सार्वजनिक गरेको छ ।

कांग्रेसको वेबसाइटमा सुर्खेत, बाँके, डोल्पा, महोत्तरी र सिरहा जिल्लाका क्रियाशील सदस्यहरूको नाम सार्वजनिक गरिएको हो ।

यी ५ जिल्लाका क्रियाशील सदस्यताको सूची शनिबार प्रकाशित गरिएको केन्द्रीय निर्वाचन समितिले जनाएको छ ।

क्रियाशील सदस्यको सूची प्रकाशित नहुँदा यी जिल्लामा कांग्रेसले वडा तहकै अधिवेशन गर्न पाएको थिएन ।

भदौ १८ र असोज ५ मा वडा अधिवेशन तोके पनि यी जिल्लामा हुन सकेको थिएन । अब क्रियाशील सूची आएसँगै वडा अधिवेशन गर्ने बाटो खुलेको छ ।

कांग्रेसमा अझै ८ जिल्लाको क्रियाशील सदस्यता सूची सार्वजनिक हुन सकेको छैन । प्रदेश नम्बर २ का अधिकांश जिल्लाको सूची सार्वजनिक हुन सकेको छैन ।

पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला, केन्द्रीय सदस्यद्वय मीनेन्द्र रिजाल र रमेश लेखकले पटकपटक सहमति गरी क्रियाशील सदस्यता विवाद मिलाइरहेका छन् ।

Published : Sunday, 2021 September 26, 8:27 am

फेसबुकबाट तपाईको प्रतिक्रिया