कांग्रेसको महाधिवेशन नयाँ चरणमा प्रवेश : डा.महत

काठमाडौं । नेपाली कांग्रेसका सह–महामन्त्री डा.प्रकाशशरण महतले १४औं महाधिवेशन नयाँ चरणमा प्रवेश गरेको बताएका छन् ।

डा.महतले शनिबार विज्ञप्ति जारी गरेर वडा अधिवेशन सम्पन्न भएका ६४ वटा जिल्लाका गाउँ तथा नगरपालिका, महानगर र उप–महानगरसमेतमा हुन गइरहेको अधिवेशनका अवसरमा शुभकामना दिएका हुन् ।

उनले भनेका छन्, ‘म समस्त गाउँ तथा नगर प्रतिनिधि, वडा कार्यसमितिका पदाधिकारी तथा सदस्य, क्रियाशील तथा साधारण सदस्य, भातृ तथा शुभेच्छुक संस्थाका पदाधिकारी तथा सदस्य र नेपाली कांग्रेसका समर्थक एवम् शुभेच्छुकहरू सबैमा हार्दिक शुभकामना व्यक्त गर्न चाहन्छु ।’

‘क्रियाशील सदस्य, साधारण सदस्य, कार्यकर्ता र शुभेच्छुकहरूको व्यापक सहभागितामा शान्तिपूर्ण रुपमा सम्पन्न भएका वडा अधिवेशनले नेपाली कांग्रेसका सबै तहका नेता र कार्यकर्ताहरूमा अपूर्व उत्साह जगाएको छ’, डा.महतले भनेका छन् ।

‘यसले नेपालमा प्रजातन्त्रको मियो र दियो नै नेपाली कांग्रेस भएको कुरा पुष्टि गरेको छ’, उनले भने, ‘२०७२ सालमा नयाँ संविधान जारी भएपछि दोस्रो पटक आयोजित महाधिवेशनका क्रममा तल्लो तहदेखि कार्यकर्ताहरूको व्यापक सहभागितामा अधिवेशन गरी लोकतान्त्रिक वातावरणमा स्वच्छ प्रतिस्पर्धाका आधारमा निर्वाचनका माध्यमबाट नेतृत्व चयन गर्ने श्रेय पनि हामीलाई प्राप्त भएको छ ।’

सह–महामन्त्री डा.महतले भने, ‘वडादेखि गाउँ तथा नगर अधिवेशनका क्रममा नेपाली कांग्रेसका समस्त कार्यकर्ता, समर्थक र शुभेच्छुकहरूमा देखिएको उत्साह र सक्रियतालाई मैले नेपाली कांग्रेसको शक्ति र उज्वल भविष्यको संकेतको रुपमा लिएको छु ।’

‘यसले हामी सबैलाई योग्य, दक्ष, अनुभवी, लगनशील, मिलनसार, कर्तब्यपरायण, कार्यकर्ता र नागरिकमुखी नेतृत्व चयन गरी आगामी निर्वाचनमा राज्यका तीनै तहमा नेपाली कांग्रेसलाई विजयी बनाएर वी.पी.कोइरालाले परिकल्पना गर्नुभए अनुरुपको समाज स्थापना गरी मुलुकलाई समृद्धिको मार्गमा लैजान झन प्रेरित गरेको छ’, डा.महतले भनेका छन् ।

‘यसलाई मैले नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले सार्नुभएको बलियो कांग्रेस समृद्ध देशको परिकल्पना साकार पार्ने अवसरका रुपमा पनि लिएको छु’, डा.महतले भनेका छन् ।

‘म यस अवसरमा तल्लो तहदेखि जिम्मेवारी लिएर पार्टीमा सक्रिय भैरहनुभएका समस्त साथीहरुलाई गाउँ तथा नगर अधिवेशनमा उत्साहपूर्वक सहभागी भएर पूर्णं प्रजातान्त्रिक वातावरणमा स्वच्छ प्रतिस्पर्धाका आधारमा नेतृत्व चयन गरी त्यसका माध्यमबाट नागरिकहरुको सेवा गर्दै आगामी निर्वाचनमा नेपाली कांग्रेसलाई विजयी बनाएर हाम्रा प्रतिनिधिहरुलाई जिम्मेवार ढंगले नागरिक सेवामा समर्पित गराउन निरन्तर क्रियाशील रहन पनि अनुरोध गर्दछु’, उनले भनेका छन् ।

‘गाउँ तथा नगर अधिवेशनको यस शुभ घडीमा म आफ्नो योग्यता, क्षमता, दक्षता, कार्य कुशलता, जोश, जाँगर सबै लगाएर उच्च जिम्मेवारीसहित मन, वचन र कर्मले पार्टीको संगठन निर्माणको लागि समर्पित हुँदै यहाँहरुको दुःख सुखमा सदैव साथमा रहने प्रतिबद्धता पनि व्यक्त गर्दछु’, उनले भने, ‘सदा झै यहाँहरुको सहयोग,समर्थन,सद्भाव र शुभेच्छा प्राप्त हुने विश्वास गरेको छु ।’

Published : Saturday, 2021 September 25, 3:22 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया