प्रचण्डको पार्टीका ‘नव युवराज’को चर्तिकला

भरतपुर । सत्तारुढ माओवादी केन्द्रका नेता एवम् उप–राष्ट्रपति नन्दबहादुर पुनका छोरा दीपेश पुनले चितवनमा ‘नौटंक’ देखाएपछि सामाजिक सञ्जालमा आलोचना भएको छ ।

उप–राष्ट्रपति नन्दबहादुरका छोरा दीपेश सरकारी सेवासुविधामा बस्छन् । दीपेश माओवादीको भ्रातृ संगठन अनेरास्ववियु क्रान्तिकारीका पदाधिकारी समेत हुन् ।

बाबु नन्दबहादुरको सरकारी रवाफ, सेवा सुविधा र शान देखेर हुर्किएका ‘नव युवराज’को उपमा पाएका दीपेशले १०/१२ जना अखिल क्रान्तिकारीका कार्यकर्ताहरूलाई उभ्याएर फूलका गुच्छामार्फत स्वागत खाएका छन् ।

उनले आफूलाई अखिल क्रान्तिकारीका सीमित नेता कार्यकर्ताले गरेको स्वागतको भिडियो आफ्नो फेसबुकमा राखेर रमाइलो मानेका छन् ।

दीपेशले भिडियो राखेर फेसबुकमा लेखेका छन्, ‘अखिल (क्रान्तिकारी)को व्यारेकको रुपमा स्थापित कृषि तथा वनविज्ञान विश्वविद्यालय, रामपुर, चितवनमा ।’

बेलाबेला बाबु उप–राष्ट्रपति नन्दबहादुर पुनका पावर देखाएर अनुचित कार्यहरू गरेको भनेर आरोप लाग्दै आएको छ ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को गृहजिल्ला चितवनमा दीपेशले आफ्नै बुबा र प्रचण्डलाई कार्यकर्ताले गर्ने गरेको स्वागतको सिको गरेर १०/१२ जना समर्थकमार्फत फूलको गुच्छासहित स्वागत खाएपछि सामाजिक सञ्जालमा नाभाँती आलोचना भएका छन् ।

Published : Friday, 2021 September 24, 11:52 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया