सिन्धुपाल्चोकमा कांग्रेसको वडा अधिवेशनमा ‘खुनखराबा’

चौतारा । सिन्धुपाल्चोक जिल्लाको जुगल गाउँपालिकामा कांग्रेसको वडा अधिवेशनमा खुकुरी प्रहार गरेर वडा अधिवेशन बिथोल्ने प्रयास भएको छ ।

जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रहरी प्रमुख एवम् एसपी राजन अधिकारीले जुगल गाउँपालिकाको वडा नं. ३ मा पाँचलाल तामाङलाई खुकुरी प्रहार भएको सूचना आएको जानकारी दिए । उनले दोषीलाई कानूनी कारबाही हुने बताएका छन् ।

एसपी अधिकारीले खुकुरी प्रहारबाट घाइते भएका व्यक्तिलाई हेलिकप्टरबाट उद्धार गरेर काठमाडौंमा उपचारका लागि लगिएको बताएका छन् । पाँचलाल तामाङलाई आयुष भन्ने व्यक्तिले व्यक्तिगत रिसिबीमा खुकुरी प्रहार गरेको स्थानीयको दाबी छ ।

सिन्धुपाल्चोक जिल्लाको क्षेत्र नं. १ को जुगल गाउँपालिकाको वडा नं. ३ मा कांग्रेसको वडा अधिवेशन हुन सकेको थिएन ।

शुक्रबार वडा अधिवेशन हुँदै गर्दा खुकुरी प्रहार गरेर कांग्रेसभित्र आतंक मच्चाएको कांग्रेसका कार्यकर्ताहरूको भनाइ छ ।

खुकुरी प्रहार गर्नेलाई पक्राउ गरेर हदैसम्मको कारबाही गर्न पीडित पक्षको माग छ ।

Published : Friday, 2021 September 24, 12:48 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया