कांग्रेसको महाधिवेशन एक महिना सार्न प्रस्ताव, हिमाली जिल्लाबारे नयाँ निर्णय

काठमाडौं । नेपाली कांग्रेसले हिमाली जिल्लाको अधिवेशन दशैं अगाडि गर्ने निर्णय गरेको छ ।

काठमाडौंमा बिहीबार बसेको पदाधिकारी र पूर्वपदाधिकारीसहितका नेताहरूको बैठकले हिमाली जिल्लामा दशैं अगाडि जिल्ला अधिवेशन गर्ने सहमति गरेको हो ।

ताप्लेजुङ, संखुवासभा, सोलुखुम्बु, दोलखा, सिन्धुपाल्चोक, रसुवा, मनाङ, मुस्ताङ,डोल्पा, जुम्ला, मुगु, हुम्ला, कालीकोट, बाजुरा, बझाङ, दार्चुला, धादिङ, गोरखासहित २१ जिल्लाको अधिवेशन दशैं अगाडि गर्ने निर्णय भएको जनाइएको छ । रसुवा जिल्लामा भने क्रियाशील सदस्यता विवाद कायमै छ ।

निर्वाचन समितिका संयोजक महादेवप्रसाद यादवले हिमाली जिल्लाहरूमा दशैं अगाडि नै अधिवेशन गर्न प्रस्ताव गरेका थिए । सोही प्रस्तावअनुसार दशैं अगाडि अधिवेशन गर्ने सहमति भएको जनाइएको छ ।

हिमालीबाहेकका जिल्लामा दशैंअघि स्थानीय तहको अधिवेशन सम्पन्न गर्ने र बाँकी अधिवेशनका कार्यक्रम दशैंपछि गर्ने सहमति भएको संयोजक यादवले बताएका छन् ।

कांग्रेसमा ६४ जिल्लाको वडा अधिवेशन सम्पन्न भइसकेको छ । असोज ९ गते पालिका अधिवेशन हुँदैछ ।

१३ जिल्लाको क्रियाशील सदस्यता सार्वजनिक नहुँदा अधिवेशन तालिका प्रभावित भएको छ ।

नेता रामचन्द्र पौडेल पक्षले सबै अधिवेशन एउटै समयमा हुनुपर्ने माग गरेपछि कांग्रेसमा महाधिवेशन कार्यतालिका परिमार्जन हुने भएको छ ।

कांग्रेसको महाधिवेशन कार्यतालिका अनुसार ९ असोजमा स्थानीय तहको अधिवेशन, १२ असोजमा प्रदेश सभा निर्वाचन क्षेत्र, १५ असोजमा प्रतिनिधिसभा निर्वाचन क्षेत्र र १८ असोजमा जिल्ला अधिवेशन गर्ने उल्लेख छ ।

सभापति शेरबहादुर देउवा समूहले केन्द्रीय महाधिवेशन एक महिना पछाडि सार्ने प्रस्ताव गरेको छ । बैठकमा महामन्त्री पूर्णबहादुर खड्काले मंसिर ७ देखि १३ गतेका लागि तोकिएको महाधिवेशन गर्न नभ्याउने बताएका हुन् ।

बैठक शुरु गरेर प्रधानमन्त्री समेत रहेका पार्टी सभापति शेरबहादुर देउवा हिँडिसकेका थिए । देउवा हिँडेपछि उप–सभापति विमलेन्द्र निधिको उपस्थितिमा भएको छलफलमा खड्काले पुसमा केन्द्रीय महाधिवेशन गर्ने प्रस्ताव राखेका छन् ।

कांग्रेसले २०७७ भदौ २३ अगाडि नै केन्द्रीय महाधिवेशन गरिसक्नुपर्ने हो । पाँच वर्षे कार्यकाल पुरा गरेर थपिएको ६ महिना २३ भदौमै गुज्रिसकेको छ ।

Published : Friday, 2021 September 24, 12:32 am

फेसबुकबाट तपाईको प्रतिक्रिया