कांग्रेसको महाधिवेशन बिथोल्ने कर्ण मल्लको हर्कत, डडेल्धुरादेखि सानेपासम्म बबण्डर

डडेल्धुरा । नेपाली कांग्रेस डडेल्धुराका सभापति कर्णबहादुर मल्लले वडा अधिवेशनहरूको विरोध गर्दै रिले अनसन शुरू गरेका छन् ।

सभापति मल्लले बिहीबार आफू निकटका नेता कार्यकर्ताहरूलाई पार्टी कार्यालय डडेल्धुरामा धर्नामा बसालेका हुन् ।

उनले आफू निकटका सञ्चारमाध्यममा सभापति शेरबहादुर देउवाको अपमान, मानमर्दन तथा १४औँ अधिवेशन बिथोल्ने हर्कतका समाचार लेखाएको डडेल्धुरा कांग्रेसका कार्यकर्ताको आरोप छ ।

आफूले भनेअनुसार नभएको भन्दै सभापति मल्लले डडेल्धुरादेखि केन्द्रीय कार्यालय सानेपासम्म भाँडभैलो मच्चाउँदै आएका छन् ।

सभापति शेरबहादुर देउवाको टिमबाट राजनीति शुरु गरेका सभापति मल्लले पछिल्लो समय देउवाविरुद्ध नै हर्कत गर्दै आएका छन् । आफ्नै पार्टी सभापति देउवाको विरोध गरेर औकात देखाएपछि मल्ललाई डडेल्धुरा कांग्रेसका कार्यकर्ताहरू रिसाएर आगो बनेका छन् ।

मल्लका विरुद्ध पार्टी केन्द्रीय कार्यालय सानेपामा पनि उजुरी परेको छ । सभापति देउवाले आफ्नै जिल्लाको कुरा भएका कारण पदीय हैसियतले बोल्न मिलेको छैन । देउवाको मौनतालाई कमजोरी ठानेर मल्लले उत्पात मच्चाएका हुन् ।

देउवाविरुद्ध मल्लले नेता रामचन्द्र पौडेल र उप–सभापति विमलेन्द्र निधिलाई उचाल्ने गरेका छन् ।

डडेल्धुरा जिल्लाको क्रियाशील सदस्यता विवादलाई विवाद समाधान समितिले सर्वसम्मत रुपमा टुंग्याएको थियो । छानविन समितिले सर्वसम्मत टुंग्याएको क्रियाशील सदस्यतालाई केन्द्रीय कार्यसमितिले पनि अनुमोदन गरेको थियो ।

सभपाति मल्लले आफूले अबैध रुपमा थपेका क्रियाशील सदस्यता छानविन समितिले वेबसाइटबाट हटाइदिएपछि असन्तुष्टि जनाउँदै आएका छन् ।

मल्लले भदौ २५ गते सम्पन्न वडा अधिवेशनलाई बहिस्कार गरेका थिए । वडा अधिवेशनलाई निर्वाचन समितिले केही वडाबाहेक सबै वडामा सर्वसम्मत रुपमा सम्पन्न गरेको थियो ।

Published : Thursday, 2021 September 23, 10:35 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया