रामचन्द्र पौडेलको झुठ टिक्न सकेन, आफ्नै गुटका नेताहरू चकित

काठमाडौं । नेपाली कांग्रेसका सभापति समेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाविरुद्ध मन्त्रीहरूका विषयमा नेता रामचन्द्र पौडेलले छलफल नै नगरेर नियुक्ति गरेको भनेर असन्तुष्टि जनाएपछि भनाभन भएको छ ।

सिंहदरबारस्थित कांग्रेसको संसदीय दलको कार्यालयमा बुधबार बसेको पदाधिकारी र पूर्वपदाधिकारीहरूको बैठकमा पौडेलले मन्त्रीहरू सल्लाह नै नगरेर एकलौटी रुपमा नियुक्ति गरेको भनेर देउवासँग जवाफ मागेका थिए । देउवाले मन्त्री नियुक्ति गर्दा सल्लाह गरेको भनेर पौडेललाई जवाफ दिएको एक नेताले बताए ।

‘मन्त्री नियुक्ति गर्दा तपाईसँग सल्लाह गरेरै नियुक्ति गरेको हुँ’, देउवाले पौडेललाई दिएको जवाफ उदृत गर्दै एक नेताले भने, ‘सल्लाह नै नगरेको भनेर कसरी भन्नुभयो ?’

देउवाले पौडेलसँग सल्लाह गरेरै मन्त्रीहरू नियुक्ति गरेको खुलासा भएपछि अरु नेताहरू चकित परेका छन् ।

बैठकमा जानु अगाडि पौडेलले गुटको बैठक राखेका थिए । बैठकमा अधिवेशन सार्ने र मन्त्रीहरू एकलौटी नियुक्ति गरेको विषयमा छलफल भएको थियो ।

नेता पौडेलले असोज ९ गते हुन लागेको कांग्रेसको गाउँ र नगर अधिवेशनलाई सार्न प्रस्ताव गरेका थिए । तर, देउवाले अधिवेशन सार्दा नकारात्मक असर पर्नेभन्दै अधिवेशन साने पौडेलको प्रस्ताव अस्वीकार गरिदिएका छन् ।

Published : Wednesday, 2021 September 22, 7:59 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया