बन्दिपुरमा विप्लव समूहको खानपिनको काण्ड

काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीको केन्द्रीय समितिको पूर्ण बैठक तनहुँ जिल्लाको बन्दिपुरमा सम्पन्न भएको छ ।

२/३ वर्ष भूमिगत भएको नौटंकी गरेर तत्कालीन प्रधानमन्त्री खड्गप्रसाद ओलीको हातबाट टीका लगाएर खुला राजनीतिमा प्रवेश गरेको विप्लव समूहको बैठक तामझामका साथ सम्पन्न भएको हो ।

बैठकका नाममा विप्लव समूहले करीव १० लाख सिध्याएको चर्चा छ । बैठकमा केन्द्रीय सदस्य र उनीहरूको सुरक्षाकर्मी, गाडीका ड्राइभर आदिको गरि करीव १ सय जनाको उपस्थिति रहेको थियो ।

तर, विप्लव समूहले हिसाब कितावका विषयमा केही भनेको छैन । बैठकका लागि बन्दिपुरमा तिर्ने पैसा विप्लव समूहले कहाँबाट ल्याएका हुन् प्रश्न उठेको छ ।

बन्दिपुर पर्यटकीय हिसावमा निकै राम्रो स्थानमा मानिन्छ । बन्दिपुरका होटेल तथा लजहरू तुलनात्मक रुपमा महँगा छन् । खानपान पनि अलिक महँगो नै छ ।

कथित सर्वहारा वर्गको प्रतिनिधित्व गर्ने बताउँदै आएको विप्लव समूहलाई ५ दिनसम्मको खर्च कसले दियो ? प्रश्न उठेको छ । विप्लवका नेता कार्यकर्ताहरूलाई प्रत्येक दिन एउटा खसी, खाजामा अण्डा, कहिले मकैको आटो (ढिँडो), लोकल कुखुराको झोल आदिको व्यवस्था रहेको एक नेताले बताएका छन् ।

खाना खानुपर्छ । तर, सर्वहारा जनताको आवाज उठाउने भन्ने, विलासी जीवनको विरोध गर्ने आफू भने बन्दिपुर जस्तो ठाउँमा पुगेर खानाका परिकारसहित बैठक गर्ने भनेर विप्लव समूहमाथि प्रश्न उब्जिएको हो ।

यस विषयमा प्रतिक्रिया लिन विप्लव समूहका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’लाई सम्पर्क गर्दा सम्पर्क हुन सकेन ।

Published : Wednesday, 2021 September 22, 8:14 am

फेसबुकबाट तपाईको प्रतिक्रिया