१४औँ महाधिवेशनले नै कांग्रेसलाई निर्वाचन जिताउँछ : डा.महत

काठमाडौं । नेपाली कांग्रेसका सह–महामन्त्री डा. प्रकाशशरण महतले पार्टीलाई सशक्त बनाएर आगामी निर्वाचनमा कांग्रेसलाई विजयी बनाउन १४औँ महाधिवेशनको ठूलो भूमिका रहने बताएका छन् ।

नेपाली कांग्रेस काठमाडौं महानगरपालिका वडा नं. ४ र ५ को १४औँ वडा अधिवेशनको उद्घाटन गर्दै डा.महतले कांग्रेसको हालको लक्ष्य आगामी आमनिर्वाचन जित्ने रहेको बताए । उनले त्यस अनुरुपको संगठन निर्माणमा क्रियाशील सदस्यको ठूलो भूमिका रहने बताए ।

‘जो–जो कांग्रेसको आदर्श, सिद्धान्त, नीति र अनुशासनमा विश्वास गर्नुहुन्छ उहाँहरू साधारण सदस्य बन्न पाउनुहुन्छ’, उनले भने, ‘क्रियाशील सदस्य हुन पार्टीमा निरन्तर क्रियाशील हुनुपर्दछ ।’

कार्यकर्तालाई वडादेखि राष्ट्रिय तहसम्म पार्टीले सुम्पिएका जिम्मेवारी पूरा गर्दै पार्टीलाई जनतासंग जोड्ने प्रयास गर्न उनले आग्रह गरेका छन् ।

यस पटकको महाधिवेशन ब्यापक सहभागितामूलक र पारदर्शी ढंगलमा भैरहेको उनले बताएका छन् ।

सह–महामन्त्री डा.महतले पहिले ४ लाख सदस्य भएकोमा अहिले ८ लाख सदस्य पुगेको भन्दै सदस्य र क्रियाशील सदस्यता विधिसम्मत र विवेकपूर्ण ढंगले वितरण गरिएको बताए ।

गुनासो र उजुरी सुन्ने छानविन गर्ने प्रावधान राखिएको भन्दै उनले क्रियाशील सदस्यता वितरणमा समय लागेपनि सौहाद्र्र र सहभागितामूलक रुपमा भैरहेको बताए ।

उनले महाधिवेशन संविधानको मर्म र पार्टीको विधान अनुरुप समावेशी प्रतिनिधिमूलक ढंगले भैरहेको पनि बताएका छन् ।

उनले कुनै वर्गसमुदायले पार्टीको नेतृत्व गर्ने अवसरबाट वञ्चित भए भन्ने गुनासो नरहने गरी महाधिवेशनका प्रक्रियाहरू चलिरहेको बताए ।

एकतिहाई स्थानमा महिलाहरू निर्वाचित गर्ने कार्यको थालनी भएको भन्दै उनले भने, ‘कांग्रेस संविधानको मर्म र भावनाको कार्यान्वयन गर्ने पहिलो पहिलो पार्टी हुँदैछ ।’

सह–महामन्त्री डा.महतले अघिल्लो निर्वाचन जितेर आएका दलहरू राज्य सञ्चालनमा असफल भएकोले अप्ठ्यारो अवस्थामा कांग्रेसको नेतृत्वमा संयुक्त सरकार बनेको बताएका छन् ।

उनले भने, ‘प्रतिकूलतासँग जुध्दै सरकार सम्पूर्ण नागरिकलाई खोप दिएर जनतालाई सुरक्षा दिएको छ ।’

सह–महामन्त्री डा. महतले नेतृत्व चयनमा सहमति सर्वोत्तम हुने बताएका छन् । उनले सहमति भएन भने प्रजातान्त्रिक तरिकाले मतदानबाट निर्णय गर्नु उचित हुने बताएका छन् ।

Published : Tuesday, 2021 September 21, 12:54 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया