मंगलबार कुन–कुन जिल्लामा हुन्छ कांग्रेसको अधिवेशन ? यी जिल्लामा हुनेछैन अधिवेशन

काठमाडौं । नेपाली कांग्रेसका वडा अधिवेशन हुन नसकेका जिल्लाहरूमा मंगलबार अधिवेशन हुने भएको छ ।

मंगलबार काठमाडौंसहितका जिल्लाहरूमा वडा अधिवेशन सम्पन्न हुनेछ । डोल्पा, धनुषासहितका केही जिल्लाको विवाद मिल्न नसकेका कारण मंगलबार ती जिल्लाहरूमा वडा अधिवेशन हुनेछैन ।

डोल्पा, बाँके, बारा, सप्तरी, धनुषा, रौतहट, रसुवा, सर्लाहीलगायतका जिल्लामा विवाद समाधान भएको छैन ।

कांग्रेसको क्रियाशील सदस्यता छानविन विवाद समाधान समितिका सदस्य एवम् केन्द्रीय सदस्य योगेन्द्र चौधरीले क्रियाशील सदस्यतासम्बन्धी विवाद समाधानका लागि एउटा मापदण्ड बनाएर शीर्ष नेतृत्वलाई बुझाएको बताएका छन् । शीर्ष नेताहरूले समितिले बुझाएको प्रतिवेदन र नामावलीलाई निर्णय गरेर अगाडि बढ्न सक्ने बताएका छन् ।

वडा अधिवेशन सम्पन्न भएपछि नगरपालिका र गाउँपालिकाको अधिवेशन हुनेछ ।

कांग्रेसले ५७ जिल्लामा वडा अधिवेशनहरू गरिसकेको छ । अधिकांश वडाहरूमा अधिवेशन सर्वसम्मत सम्पन्न भएका छन् ।

काठमाडौं र मोरङ जिल्लाका वडा अधिवेशनलाई अलिक धेरै चासोका रुपमा हेरिएको छ । यी दुई जिल्लामा क्रियाशील सदस्यहरू धेरै छन् ।

कपिलवस्तु, सिन्धुपाल्चोक, काभ्रे, बाजुरा र बर्दियामा पनि मंगलबार वडा अधिवेशनहरू हुनेछ ।

काठमाडौंको वडा अधिवेशनमा प्रकाशमान सिंह, सह–महामन्त्री डा.प्रकाशशरण महत, भीमसेनदास प्रधान, गगन थापासहितका नेताहरू जोडिएका छन् ।

मोरङमा महामन्त्री डा.शशांक कोइराला, सुजाता कोइराला, डा.मीनेन्द्र रिजाल, डा.शेखर कोइराला, डा.सुनिल शर्माको गृहजिल्ला पर्छ ।

मोरङमा कोइराला परिवारको विरासत रहे पनि पछिल्लो समय पारिवारिक विरासत भत्किदै गएको छ ।

Published : Monday, 2021 September 20, 8:00 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया