विमलेन्द्र निधिले धनुषामा ‘तोरिको फूल’ देखे, कैलाली कांग्रेसको कुरा यसरी मिल्यो

काठमाडौं । नेपाली कांग्रेसले कैलाली र धनुषा जिल्लाको क्रियाशील सदस्यताको विवाद मिलाएको छ ।

कांग्रेसको क्रियाशील विवाद समाधान समितिले कैलाली र धनुषाको विवाद मिलाएको हो ।

नेता कृष्णप्रसाद सिटौंला संयोजक रहेको समितिले असोज ३ गते कैलाली र धनुषाको विवाद मिलाउने निर्णय गरेको थियो ।

समितिको निर्णयअनुसार धनुषाको क्षेत्र नम्बर ४ मा रहेको बट्श्वेर नगरपालिका– ५ र क्षिरेश्वर नगरपालिका– १० मा नयाँ क्रियाशील सदस्यहरूले १४औं महाधिवेशनमा भाग लिन पाउने छैनन् । यी दुई वटामा पुरानै क्रियाशील सदस्यहरूबाट अधिवेशन हुनेछ ।

मिथिला बिहारी नगरपालिकाको वडा नम्बर ६ र १०, लक्ष्मिनिया गाउँपालिकाको वडा नम्बर १ र २ मा वडा सभापतिहरूले सिफारीस गरेको नयाँ क्रियाशील सदस्यतालाई मान्यता दिने निर्णय भएको छ ।

क्षिरेश्वर नगरपालिका वडा नम्बर ७ तथा लक्ष्मिनिया गाउँपालिका वडा नम्बर ३, ४, ५, ६ मिथिला बिहारी नगरपालिका– २ का साथै जनकपुर उप–महानगरपालिका वडा नम्बर १९ का वडा सभापतिहरूले फर्जी भनिएका क्रियाशील हटाएर वडा सभापतिहरूले सिफारिस गरेका क्रियाशील सदस्यले मात्र १४औं महाधिवेशनमा भाग लिन पाउनेछन् ।

डा.चन्द्रमोहन यादवसहितका नेताहरू केन्द्रीय कार्यालय सानेपामा अनसन बसेका थिए । १३औं महाधिवेशनमा यो क्षेत्रलाइ महाधिवेशनमा भाग लिन वञ्चित गरिएको थियो ।

धनुषा जिल्लामा उप–सभापति विमलेन्द्र निधिले एकलौटी रुपमा कब्जा गरेर आफ्ना विरोधीहरूलाई ठेगान लगाउन खोजेपछि विवाद भएको थियो । डा.यादव र निधिबीच धनुषा जिल्ला ठूलो विवाद छ ।

सभापतिमा उम्मेदवारी घोषणा गरेका निधिले आफ्नै गृहजिल्ला धनुषामा विवाद मिलाउन नसकेर १३औँ महाधिवेशनका आधारमा केही वडामा अधिवेशन गर्नु परेको छ । निधिले आफ्नै जिल्लाभित्र लफडाको सामना गर्नुपरेको छ । निधिको दादागिरीलाई क्रियाशील सदस्यता विवाद समाधान छानविन समितिले तोरिको फूल देखाइदिएको छ ।

कैलाली जिल्लाको क्षेत्र नम्बर १ को टीकारपुर नगरपालिका– १ मा १३औँ महाधिवेशनका क्रियाशील सदस्यहरूले मात्र १४औं महाधिवेशनमा भाग लिन पाउनेछन् ।

Published : Monday, 2021 September 20, 10:09 am

फेसबुकबाट तपाईको प्रतिक्रिया