एमालेको निजामती कर्मचारी संगठन दुई टुक्रा, कांग्रेसका ‘दुश्मन’हरू कमजोर

काठमाडौं । एमालेको कर्मचारी संगठन नेपाल निजामती कर्मचारी संगठन विभाजन भएको छ ।

आन्तरिक विवाद भएपछि कर्मचारी संगठन ३१ वर्षपछि विभाजन भएको हो ।

माधव नेपाल निकट कर्मचारीहरूले केपी ओली निकट कर्मचारीहरूलाई कारबाहीको घोषणा गरेर खाली ठाउँमा आफू निकटका कर्मचारीहरूलाई मनोनीत गरेका छन् । मनोनीत गरेपछि कर्मचारी संगठन विभाजन भएको हो ।

एमालेका अध्यक्ष केपी ओली निकटको कर्मचारी संगठनको अध्यक्षमा केदार देवकोटालाई मनोनीत गरिएको छ । देवकोटा यसअघि पनि अध्यक्ष थिए ।

माधव नेपाल निकटको कर्मचारी संगठनले रेवन्त गौतमलाई अध्यक्ष बनाएको छ । गौतम यसअघि महासचिव थिए ।

माधव नेपाल निकट कर्मचारीहरूले अध्यक्ष देवकोटा, वरिष्ठ उपाध्यक्ष लेखनाथ कोइराला लगायत १० जना कर्मचारीहरूलाई संगठनबाट कारबाही गरेको घोषणा गरेका छन् ।

दुबै पक्षले आधिकारिक ट्रेड युनियनमा फरक–फरक नाम पठाएका छन् ।

ओली निकट कर्मचारीहरूले आधिकारिक ट्रेड युनियनको अध्यक्षमा केदार देवकोटालाई पठाएका छन् ।

युनियनमा माधव नेपाल निकट कर्मचारीहरूले मोहन घिमिरेलाई पठाएका छन् ।

ओली निकट कर्मचारीहरूले माघ ७ र ८ गते संगठनको महाधिवेशनको मिति तोकेका छन् ।

ओली निकट कर्मचारीहरूले माधव नेपाल निकट कर्मचारीहरूले सङ्गठनको माइन्युटिङ र लेटर प्याड चोरी भएको आरोप लगाएका छन् ।

२०४७ सालमा नेपाल निजामती कर्मचारी संगठनको स्थापना भएको थियो । २०७३ जेठमा भएको आधिकारिक ट्रेड युनियनको चुनावमा एमालेको संगठनले सबैभन्दा बढी भोट ल्याएको थियो ।

निजामती कर्मचारीभित्र पछिल्लो समय एमाले निकटका कर्मचारीहरूको दब्दबा थियो । एमाले र माओवादी केन्द्र निकटका कर्मचारीहरू मिलेर आधिकारिक ट्रेड युनियनमा कब्जा जमाएका थिए । संगठन फुटेपछि कांग्रेस निकटका कर्मचारीहरूलाई प्रतिस्पर्धा गर्न केही सहज हुनेछ ।

Published : Sunday, 2021 September 19, 9:08 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया