संविधानबाट धर्मनिरपेक्षता र संघीयता हट्दैन : कांग्रेस नेता सिटौला

काठमाडौं । नेपाली कांग्रेस नेता कृष्णप्रसाद सिटौलाले संविधानको पूर्ण कार्यान्वयनका लागि दलहरूका बीच एकता र सहकार्यको खाँचो रहेको बताएका छन् ।

काठमाडौंको रत्नपार्कस्थित शान्तिबाटिकामा आइतबार आयोजित कार्यक्रममा सिटौलाले संविधान दिवसको दिनलाई नकारात्मकभन्दा पनि सकारात्मक कुराकानी गरेर मनाउनुपर्ने बताए ।

तत्कालीन संविधान मस्यौदा समितिका संयोजक समेत रहेका नेता सिटौलाले भने, ‘संविधान हामीले नै बनाएका हौं । यो हामी सबैको, राष्ट्रिय सहमतिको दस्तावेज हो ।’

‘आजको दिनमा हामीले नकारात्मकभन्दा सकारात्मक कुरा गर्नु राम्रो हुन्छ’, उनले भनेका छन् ।

कांग्रेस नेता सिटौलाले दलहरूका बीचमा निरन्तर सहमति र सहकार्यको माध्यमबाट मात्रै संविधानको मूलभूत विशेषतादेखि अन्य व्यवस्थाहरूको कार्यान्वयन हुन सक्ने बताएका छन् ।

उनले भनेका छन्, ‘दलहरूको असमझदारीले बारम्बार संविधानमाथि तोडफोड गर्ने, हनन् गर्नेजस्ता गतिविधि भए भने त्यो राष्ट्रका लागि, देशका लागि, जनताका लागि निकै हानीकारक हुनसक्छ ।’

उनले संविधानमा भएका संघीयता, धर्मनिरपेक्षता जस्ता व्यवस्थाबाट अब पछि हट्न नसकिने बताएका छन् ।

‘यही व्यवस्था ल्याउनका लागि नेपाली जनताले ठूलो संघर्ष र बलिदानी गर्नुपरेको छ’, उनले भने, ‘म सबैलाई संविधानको पक्षमा कुराकानी गर्न आग्रह गर्दछु ।’

कांग्रेस नेता सिटौलाले हिन्दूराष्ट्रबाट हटाएर संविधानमा धर्म निरपेक्षता राख्न ठूलो भूमिका खेलेको आरोप छ ।

Published : Sunday, 2021 September 19, 8:50 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया