पर्वत कांग्रेसमा युवा नेता मल्ल लोकप्रिय, सभापतिमा दाबीसँगै सिसाको घरमा बसेर घेराबन्दी

कुश्मा । नेपाली कांग्रेसको १४औं महाधिवेशनको मिति नजिकिएसँगै पर्वत जिल्लामा नेतृत्व आफ्नो हातमा पार्न नेताहरू सक्रिय भएर लागेका छन् ।

पर्वतमा असोज १५ गते अधिवेशन हुनेछ । अहिलेसम्म आधा दर्जन बढि नेताहरू नेतृत्वका लागि आकांक्षी देखिएका छन् ।

सभापतिको लागि संस्थापन पक्षबाट प्रमुख दाबेदारका रुपमा जलजला गाउँपालिकाका अध्यक्ष एवम् पर्वत कांग्रेसका कोषाध्यक्ष यामबहादुर मल्ल ‘रामकृष्ण’, महाधिवेशन प्रतिनिधि युवराज जोशी र महासमिति सदस्य गंगाधर तिवारी पहिलो पंक्तिमा छन् ।

मल्लले आफू सभापति भएमा स्थानीय तह, प्रदेश र प्रतिनिधि सभामा कांग्रेसका उम्मेदवारहरूलाई जिताउने एकसूत्रीय एजेण्डा अगाडि सारेका छन् ।

हालका सभापति खिमप्रसाद भुसाल पनि दोहोरिने चाहनामा छन् । भुसाल सहमतिको पक्षमा छन् । भुसालले सभापतिमा दोहो¥याएनन् भने मल्लको सम्भावना धेरै छ ।

युवा नेता मल्ल सभापति शेरबहादुर देउवा र नेता एवम् गृहमन्त्री बालकृष्ण खाणका विश्वासपात्र मानिन्छन् । मल्लको कार्यक्षमताप्रति सभापति देउवा र गृहमन्त्री खाणलाई राम्रो जानकारी छ ।

मल्लले विपत् र अफ्ठ्यारो अवस्थामा जनताको सेवामा पहिलो पंक्तिमा उभिने गर्छन् । उनले व्यक्तिगत रुपमा सहयोग पनि गर्दै आएका छन् ।

युवा नेता मल्लले वीपी स्मृति भवन बनाउने क्रममा गाउँपालिका र व्यक्तिगत गरि २५ लाख रूपियाँ सहयोग गरेका छन् ।

कोभिड महामारीका बेला पर्वतका सातवटा पालिकामा पुगेर व्यक्तिगत रूपमै नगदसहित लाखौंको स्वास्थ्य सामग्री वितरण गरेका पनि छन् । मल्ललाई पर्वत कांग्रेसको सभापतिका रूपमा अघि सार्नुपर्ने आवाज गाउँका नेता कार्यकर्ताको दवाव छ ।

पार्टीभित्र लोकप्रिय र अरू दलहरूसँग मिलेर काम गर्न सक्ने खुवी भएका मल्ल सभापति भएमा कांग्रेसको संगठन बलियो हुने कार्यकर्ताको भनाइ छ ।

मल्ल अघि बढ्दा आफ्नो राजनीतिक भविष्य असुरक्षित ठान्ने जिल्लाकै केही नेताहरू उनलाई घेराबन्दीमा पार्ने र उनलाई नेतृत्वमा पुग्न नदिने रणनीतिमा रहेको चर्चा पनि छ ।

पार्टी सभापतिमा युवाराज जोशीको पनि दाबी छ । युवराज केन्द्रीय सदस्य अर्जुनप्रसाद जोशीका सहोदर भाई हुन् । युवराजले सभापतिको उम्मेदवार बन्ने चाहना राखेका छन् ।

युवराज सभापति हुने चाहना राखे पनि उनी अगाडि सर्दा दाईको राजनीतिमा प्रभाव पर्नेछ । पर्वतमा दाई र भाईले कांग्रेस कब्जा गर्न खोजेको आरोप लागेका बेला जोशी परिवारलाई सोँचेर कदम उठाउन कार्यकर्ताको सुझाव छ ।

प्रतिनिधि सभाको निर्वाचनमा केन्द्रीय सदस्य जोशी नै चुनाव लड्ने अवस्था छ । जोशीले चुनाव जितेर गएमा मन्त्रीको सम्भावना बलियो छ । तर, भाईलाई सभापति बनाउने लोभ जोशीमा पलाएमा जोखिमको सम्भावना निकै छ ।

सभापतिका अर्का दावेदार गंगाधर तिवारी पनि जोडतोडले प्रचारमा लागेका छन् । तिवारी विगतमा नेता रामचन्द्र पौडेल समूहमा थिए ।

माघ १ गते पिता स्व.हरिदत्त तिवारीको स्मृति सभामा हेलिकप्टर चार्टर गरेर पार्टी सभापति शेरबहादुर देउवालाई पर्वत ल्याएपछि तिवारीको लाइन देउवा क्याम्पमा सोझिएको छ ।

तिवारीसँग सभापतिमा जित्नका लागि पैसाको खोलो बगाउन सक्ने क्षमता रहेको चर्चा छ । मल्ल र जोशीको जस्तो कार्यकर्तामा तिवारीको पकड छैन ।

देउवा समूहका सबैभन्दा पुराना नेता नवराज गुरुङले पनि सभापतिमा दाबी गरेका छन् । उनी सबैको साथ पाएमा सभापति पदमा उम्मेदवारी दिने पक्षमा छन् ।

पौडेल समूहबाट उप–सभापति दुर्गाबहादुर खत्री, नेता खगेन्द्र तिवारी र महासमिति सदस्य बसन्तबहादुर सिके पनि सभापतिका आकांक्षी छन् ।

चुनावी प्रतिस्पर्धा भयो भने तिवारी वा प्रसाइँलाई अगाडि सार्ने कि मल्ललाई ल्यार प्रतिस्पर्धा गराउने तयारीको पनि चर्चा छ । गुरुङसमूह पर्वत कांग्रेसभित्र निकै बलियो मानिन्छ । किन भने नेता गुरुङले पौडेल समूहका नेताहरूलाई पनि आफूतिर ल्याएर व्यवस्थापन गरेका छन् ।

गुरुङ समूह पर्वत कांग्रेसमा बलियो अवस्थामा रहेका कारण केन्द्रीय सदस्य जोशीले नेता गुरुङलाई कमजोर बनाउन देउवा समूहभित्रै खेलकुद गर्न सक्ने चर्चा छ । जोशीलाई परिवारवादको ट्याग लागेको छ । जोशीले भाईलाई सभापति बनाएर कांग्रेस कब्जाको रणनीतिमा रहेको आरोप छ ।

नेता जोशी १२औँ महाधिवेशनसम्म पर्वतमा एकछत्र राज गरेका थिए । १३औँ महाधिवेशनमा जोशीले झण्डै ५० प्रतिशत होल्ड गुमाउन पुगेका थिए । भाईलाई सभापति बनाएर प्रतिनिधि सभा निर्वाचनमा उम्मेदवार बन्ने सोँच केन्द्रीय सदस्य जोशीमा पलाएको छ । यस्तो भयो भने जोशीमाथि राजनीतिक दुर्घटना हुने चर्चा कुश्मा बजारमा छ ।

१३औँ महाधिवेशनमा जोशीसँगै रहेका पूर्वसभापति लालकाजी गुरुङ, वर्तमान उप–सभापति दुर्गाबहादुर खत्री, महासमिति सदस्य मीना केसी, फलेबास नगरपालिकाको उप–प्रमुखमा पराजित रेखा गुरुङले जोशीलाई छाडेर नवराज गुरुङको समूहमा पुगेका छन् ।

नेता गुरुङको समूहमा पैयूँ गाउँपालिकाका अध्यक्ष खगेन्द्रप्रसाद तिवारी, पूर्वसांसद ऋषिकेश तिवारी, पूर्वजिविस उप–सभापति राम शर्मा पौडेल, वर्तमान सचिव विश्वप्रकाश प्रसाइँलगायतका नेताहरू छन् । देउवा समूहबाट सभापतिमा पार्टी सचिव विश्व प्रसाइँको पनि चर्चा छ ।

पर्वतमा देउवा समूहमा रहेका झण्डै ५० प्रतिशत नेताहरू अहिले पौडेल–कोइराला समूहमा पुगेको चर्चा पनि छ ।

जोशी समूहमा पार्टी सभापति खिमप्रसाद भुसाल, नेपाल तरुण दलका केन्द्रीय कोषाध्यक्ष विद्वान गुरुङ, जलजला गाउँपालिकाका अध्यक्ष यामबहादुर मल्ल ‘रामकृष्ण’, महासमिति सदस्य राधा कुवँर क्षेत्री, प्रदेश सभा निर्वाचनमा ‘ख’का उम्मेदवार राजेन्द्रप्रसाद तिवारी, गंगाधर तिवारी र पार्टी सचिव अशोक उचै ठकुरी लगायतको साथ छ ।

जोशी समूहले पछिल्लो समय नेता मल्ललाई रिङबाट आउट गर्न विभिन्न खालका घेराबन्दी थालेको चर्चा छ । जोशी समूह सिसाको घरभित्र बसेर आफ्नै समूहका नेताहरूको मानमर्दनमा लागेपछि त्यसको मूल्य ढिलोचाँडो चुकाउनुपर्नेछ ।

जोशी समूहले मल्लविरुद्ध केन्द्रीय नेताहरूसम्म चम्पाको काम गर्ने, फसाउन खोज्ने, अफवाह फैलाउने, टिमको गोप्य मिटिङमा नबोलाउने र परामर्श नै नगरेर पद बाँडफाँड गर्ने जस्ता हर्कतले मल्ललाई तर्साउन खोजेको चर्चा छ ।

मल्लले आफूविरुद्ध हुने सबै खालका राजनीतिक षडयन्त्रको भण्डाफोर गरेर अगाडि बढ्ने पक्षमा योजना बनाएको चर्चा छ ।

जोशी समूहले हर्कत गरेर मल्ललाई सिध्याउन खोज्दा जोशी समूह सुरक्षित हुनेछैन । त्यसको फाइदा पौडेल–कोइराला समूहलाई हुनेछ । केन्द्रीय सदस्य जोशीको राजनीतिक विरासत पर्वतमा डगमगाउन थालेको छ ।

Published : Sunday, 2021 September 19, 2:08 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया