यस्तो बन्न सक्छ देउवा–पौडेलको टिम, उप–सभापति र महामन्त्रीमा क–कसको दाबी ?

काठमाडौं । नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत वडा अधिवेशनहरू धमाधम सम्पन्न भइरहेका बेला केन्द्रीय कार्यसमितिका लागि नेताहरूले आफ्ना दाबीहरू प्रस्तत गर्न थालेका छन् ।

दोस्रो कार्यकालको सभापतिमा शेरबहादुर देउवाले दोहोर्‍याउने तयारीमा छन् । देउवाले आफू निकटका नेताहरूसँग सभापतिमा उम्मेदवारी दिने भनिसकेका छन् । देउवा १४औँ महाधिवेशनलाई समयभित्र गर्ने पक्षमा छन् ।

वडा, नगरपालिका, गाउँपालिका, क्षेत्र, जिल्ला र प्रदेश अधिवेशन सम्पन्न भएपछि देउवाले सभापतिमा उम्मेदवारी घोषणा गर्ने तयारी गरेको बुझिएको छ ।

देउवा समूहबाट उप–सभापतिमा विजयकुमार गच्छदार, पूर्णबहादुर खड्का, ज्ञानेन्द्रबहादुर कार्कीलगायतको नाम चर्चामा छ ।

महामन्त्रीमा प्रकाशशरण महत, मोहनबहादुर बस्नेत, बालकृष्ण खाण, रमेश लेखक, एनपी साउद लगायतका नाम चर्चामा छन् ।

वरिष्ठ नेता रामचन्द्र पौडेल समूहमा सभापति पदमा धेरै नेताहरूको दाबी छ । सभापतिका आकांक्षीहरू धेरै भएका कारण पौडेल समूहको टिम कस्तो बन्ने हो आकार पाउन सकेको छैन ।

नेता पौडेल सभापति पदमा उम्मेदवार बन्ने सम्भावना रह्यो भने प्रकाशमान सिंह, शशांक कोइराला, सुजाता कोइराला, महेश आचार्य, अर्जुन नरसिंह केसीको उप–सभातिमा चर्चा छ । तर, पौडेलको नाममा सभापतिमा सहमति हुने सम्भावना निकै कम रहेका कारण अन्य विकल्पहरूमा पनि जान सक्ने सम्भावना छ ।

महामन्त्रीमा रामशरण महत, मीनेन्द्र रिजाल, गगन थापा, सरिता प्रसाइँलगायतको नाम चर्चामा छ । हुन त नेता रिजालले उप–सभापतिमा उम्मेदवारी दिने निकटका नेताहरूसँग बताउने गरेका छन् ।

पौडेल समूहमा सहमति भएन भने सभापतिमा प्रकाशमान सिंह, शशांक कोइराला, शेखर कोइराला सभापतिमा उम्मेदवार बन्ने सम्भावना निकै छ । शशांक कोइरालाले नवलपुर जिल्लाबाट सभापति पदमा उम्मेदवारी घोषणा गरिसकेका छन् ।

नेता प्रकाशमान सिंहले पनि सभापतिमा आफ्नो उम्मेदवारी दिने भन्दै ब्याक नहुने जनाएका छन् । सिंहले क–कसलाई राखेर टिम बनाउने हुन् खुलेको छैन ।

सभापति देउवालाई तल्लोस्तरको गालीगलौज गर्दै आएका शेखर कोइराला पनि सभापतिमा उम्मेदवारी दिने पक्षमा छन् । शेखरले सभापतिबाट ब्याक नहुने जनाउने गरेका छन् ।

शेखरको समूहबाट चन्द्र भण्डारी उप–सभापति र महामन्त्रीमा गुरुराज घिमिरेले महामन्त्रीमा उम्मेदवारी दिन चर्चा पनि छ । तर, भण्डारी र घिमिरेले केही भनेका छैनन् । भण्डारीले सामाजिक सञ्जालबाट उप–सभापतिमा उम्मेदवारी घोषणा गरेर भोट माग्न थालिसकेका छन् ।

नेता कृष्णप्रसाद सिटौलाले पनि सभापति पदमा उम्मेदवारी दिने उनी निकटका नेताहरूले बताएका छन् । सिटौलाको टिमबाट भीमसेनदास प्रधान, उमाकान्त चौधरी र प्रदीप पौडेल उम्मेदवार बन्नेछन् ।

सिटौला समूहबाट पौडेलले महामन्त्री पदमा एकलौटी रुपमा उम्मेदवारी घोषणा गरेका छन् ।

प्रधान र चौधरीले कुन पदमा उम्मेदवारी दिने हुन् केही भनेका छैनन् । सिटौला समूहबाट नेपाल तरुण दलका उपाध्यक्ष उत्तम चापागाइँले पनि १४औँ महाधिवेशनमा अवसर पाउनेछन् ।

नेता गोपालमान श्रेष्ठले पनि सभापति पदमा उम्मेदवारी घोषणा गरेका छन् । श्रेष्ठले टिम बनाउँछन् वा एक्लै उम्मेदवारी घोषणा गरेर बार्गेनिङ गरेको हुन् खुल्न सकेको छैन ।

उप–सभापति विमलेन्द्र निधिले तामझामका साथ सभापति पदमा उम्मेदवारी घोषणा गरिसकेका छन् । निधिको समूहबाट प्रवक्ता विश्वप्रकाश शर्मा महामन्त्रीमा उम्मेदवार बन्ने पक्का सरह भएको छ ।

महामन्त्री पदमा उम्मेदवारी घोषणा गरेको अर्को दिन निधिको घरमा पुगेर शर्मा पूजामा सरिक भएका थिए । निधिले असन्तुष्ट नेताहरूलाई समेटेर टिम खडा गर्ने योजनाका साथ ढुकेर बसेका छन् ।

सभापतिमा युवा नेता कल्याण गुरुङले पनि उम्मेदवारी घोषणा गरेका छन् । गुरुङले आफ्नो टिमलाई छिट्टै पूर्णता दिने बताउने गरेका छन् ।

सह–महामन्त्रीको संख्या धेरै रहेकाले तीन दर्जन नेताहरूको नाम चर्चामा छन् । कोषाध्यक्ष मनोनीत हुने भएका कारण सो पदमा पनि आकर्षण धेरै छैन ।

प्रदेश सभापतिमा धेरै नेताहरूले रुचि देखाएका छन् । प्रदेश सभापतिलाई धेरै पावर हुने भएका कारण पनि आकर्षण बढेको हो ।

Published : Friday, 2021 September 17, 1:57 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया