सीआईबीलाई जबरजस्त सफलता

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले ठूलो मात्रामा सालकको खपटासहित दुई जनालाई पक्राउ गरेको छ ।

रामेछाप जिल्लाबाट खपटासहित रामेछापको लिखु तामाकोशी गाउँपालिका– ३ बस्ने ३८ वर्षीय सोनाम तामाङ र ३२ वर्षीय ध्यानबहादुर तामाङलाई पक्राउ गरेको सीआईबीका प्रमुख एवम् डीआईजी धिरजप्रताप सिंहले जानकारी दिएका छन् ।

सिंहले २५ किलो सालकको खपटा बरामद भएको बताएका छन् । ७० देखि ८० वटा नेपाली सालकलाई मारेर खपटा निकालिएको हुनुपर्ने प्रहरीको भनाइ छ ।

वन्यजन्तु तथा वनस्पतिसँग सम्बन्धित अपराध अनुसन्धान तथा नियन्त्रणका लागि सीआईबीले विशेष सूचना पाएको थियो ।

पक्राउ परेकाहरूले लामो समयदेखि सुकाएर भण्डारण गरिराखेको सालकको खपटा बेच्न ग्राहक खोजिरहेका थिए ।

उनीहरूलाई मन्थली नगरपालिका– १ देवकोटा चोकबाट बिहीबार पक्राउ गरिएको डीआईजी सिंहले बताएका छन् ।

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन अनुसार ५ लाखदेखि १० लाखसम्म जरिवाना, ५ वर्षदेखि १५ वर्षसम्म कैद सजाय वा दुबै हुनसक्ने कानूनी प्रावधान छ ।

Published : Thursday, 2021 September 16, 11:43 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया