आयात प्रतिस्थापन र निर्यात प्रवर्द्धन गर्ने सरकारको प्राथमिकता : खाण

काठमाडौं । गृहमन्त्री बालकृष्ण खाणले मुलुकको अर्थतन्त्रमा टेवा पुर्‍याइरहेका उद्योग–व्यवसायको समुचित प्रबन्ध हुने प्रतिबद्धता व्यक्त गरेका छन् ।

नेपाल एलपी ग्यास उद्योग संघको २६ औँ वार्षिक साधारणसभाको बुधवार राजधानीमा उद्घाटन गर्दै खाणले देशको अर्थतन्त्रको विकासमा केही हदसम्म भए पनि योगदान गरेको ग्यास उद्योगलाई प्रवर्द्धन गरिने बताए ।

उनले आयात प्रतिस्थापन र निर्यात प्रवर्द्धन वर्तमान सरकारको उच्च प्राथमिकताको विषय भएको बताए ।

गृहमन्त्री खाणले ग्यास उद्योग मात्र नभई देशका सम्पूर्ण उद्योगको ध्यान त्यसतर्फ केन्द्रित हुन आवश्यक रहेको बताएका छन् ।

उनले उत्पादकत्व वृद्धिलाई केन्द्रमा राखेर काम गर्न उद्यमी–व्यवसायीहरूलाई आह्वान गरेका छन् ।

उनले ग्यासमा मात्र नभई बिजुली र सौर्य ऊर्जा प्रवर्द्धनमा पनि लगानी गर्न ग्यास उद्योगीलाई आग्रह गरेका छन् ।

स्वच्छ ऊर्जामा गरिने लगानीले दिगो प्रतिफल प्रदान गर्ने बताएका खाणले राष्ट्रिय उत्पादकत्व वृद्धिबाटै समृद्धि तर्फको नेपालको यात्रा सहज हुने बताए ।

उद्योग मन्त्रालयका सचिव अर्जुनप्रसाद पोखरेलले औद्योगिक सुरक्षा, उद्योग धन्दाको विकास र उपभोक्ता हित प्रवर्द्धन सरकारको चाहना भएको बताए । उनले देशका राष्ट्रियहित र आर्थिक विकासमा सघाउने कर्तव्यबाट उद्योग क्षेत्र विमुख नहुने बताए ।

राष्ट्रिय उद्योगहरूको संरक्षण गर्न सरकार सधैँ क्रियाशील रहेको बताउँदै सचिव पोखरेलले उद्यमी–व्यवसायीका समस्या समाधानका निम्ति उनीहरूसँग सहकार्य गर्न तयार रहेको बताएका छन् ।

संघका अध्यक्ष गोकुल भण्डारीले अर्बौको लगानी भएको ग्यास उद्योगलाई सरकारी संरक्षण र प्रवर्द्धन अपरिहार्य भएको बताएका छन् ।

उनले नेपाल आयल निगमलगायत संस्थाको साथ र सहयोगको अपेक्षा संघले गरेको बताएका छन् ।

यसैबीच, गृहमन्त्री खाणले नेपाल गुणस्तर तथा नापतौल विभागका महानिर्देशक विश्वबाबु पुडासैनीलाई गत आवमा उत्कृष्ट कार्यसम्पादन गरेबापत सम्मान गरेका छन् ।

Published : Thursday, 2021 September 16, 11:23 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया