देउवाले देखाए राजनीतिक संस्कार, बालकोटमा गोप्य मिटिङ

काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाको राजीनामा माग गरेर प्रमुख विपक्षी दल एमालेले संसद अबरोध गरेर समस्या बनाएका बेला प्रधानमन्त्री शेरबहादुर देउवाले निकास खोज्न प्रयास गरेका छन् ।

प्रधानमन्त्री देउवाले बिहीबार एमालेलाई फकाउन कानून, न्याय तथा संसदीय व्यवस्थामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई अध्यक्ष खड्गप्रसाद ओलीसँग भेट गर्न पठाएका छन् ।

एमालेले संसद अबरोध गर्दा अर्थमन्त्री जनार्दन शर्माद्वारा पेश गरिएको बजेट प्रतिस्थापन विधेयक पारित हुन सकेको छैन । जसका कारण सरकारले बजेट खर्च गर्न पाएको छैन ।

एमालेका अध्यक्ष ओलीसँग कानूनमन्त्री कार्कीले बालकोटमा भेटेर प्रधानमन्त्री देउवाको सन्देश सुनाएका छन् ।

भेटमा मन्त्री कार्कीले ओलीलाई संसद अवरोध खुलाउन र बजेट प्रतिस्थापन विधेयक पारित गर्नका लागि सहयोग गर्न आग्रह गरेका छन् । देउवाले ओलीसँग सोही विषयमा सल्लाह र परामर्श गर्न कार्कीलाई पठाएको स्रोतले जनाएको छ ।

बजेट प्रतिस्थापन विधेयक पारित हुन नसक्दा सरकारी खर्च गर्ने बाटो बन्द भएको छ । एमाले र सभामुख सापकोटाका कारण संसद अबरोध हुँदा मुलुकको अर्थतन्त्रलाई असर परेको छ ।

संसद बैठकको अबरोध खुलाउन सभामुख सापकोटा असफल भइसकेका छन् । सापकोटालाई एमालेले १४ जना सांसद कारबाही गरेको सूचना निकाल्न दवाव दिँदै आएको छ । अन्यथा सापकोटालाई सभामुख पदबाट राजीनामा दिन एमालेले माग अगाडि सारेको छ ।

सभामुख सापकोटा असफल भएपछि संसदको अबरोध खुलाउन प्रधानमन्त्री देउवा आफै सक्रिय भएका हुन् ।

यसअघि, बुधबार राति ९ बजेदेखि १० बजेसम्म एमालेका अध्यक्ष ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटेका थिए ।

भेटमा मुलुकको पछिल्लो राजनीतिक अवस्थाका विषयमा छलफल भएको बुझिएको छ । भेटका विषयमा ओली र भण्डारीको सचिवालयले केही भनेको छैन ।

Published : Thursday, 2021 September 16, 9:19 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया