दुई महिनाभित्रै कांग्रेसविरुद्ध यसरी हर्कतमा आए प्रचण्ड, सानेपाले कुरा बुझ्यो

काठमाडौं । सरकार गठन भएको झण्डै दुई महिना भइसकेको छ । नेपाली कांग्रेसको गठबन्धनको सरकार निरिह बनेको छ । मन्त्रीहरू बन्न पाएका छैनन् ।

प्रधानमन्त्री शेरबहादुर देउवालाई माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले घुमाउन थालेका छन् । प्रचण्डले असहयोग गरेकै कारण देउवाले दुई महिनासम्म मन्त्रिपरिषद समयमा विस्तार गर्न सकेका छैनन् ।

कांग्रेसलाई माओवादीसँगको गठबन्धन कहिल्यै पनि सहयोगी हुन सकेको छैन । विगतमा पनि प्रचण्डले कांग्रेसलाई धोका दिँदै आएका हुन् । यस पटक पनि प्रचण्डले कांग्रेसलाई धोका दिने पक्का जस्तैछ । प्रचण्डले अहिले माओवादी पार्टी विघटनको कुरा गरिरहेका छन् ।

उनले पार्टी नै विघटन गरेर के गर्न खोजेका हुन् ? कारण भनेका छैनन् । विगतमा माओवादी पार्टी विघटन गर्ने भनेका प्रचण्डले एमालेसँग अचानक कथित बामगठबन्धन बनाएर चुनावमा प्रतिस्पर्धा गरेका थिए । पछि एमालेसँग पार्टी एकीकरण गरेर नेकपा बनाए ।

व्यक्तिगत स्वार्थका कारण नेकपा भन्ने पार्टी धेरै दिन अगाडि बढ्न सकेन । अहिले पनि प्रचण्डले पार्टी विघटनको कुरा अगाडि बढाइरहेका छन् । खड्गप्रसाद ओलीसँग प्रचण्डले पार्टी एकीकरण वा बाम गठबन्धन गरे भने आश्चर्य नमाने हुन्छ । प्रचण्डलाई माधवकुमार नेपालको नेकपा (एकीकृत समाजवादी)सँग पार्टी एकीकरण गरेर खासै सहयोग हुनेछैन । प्रचण्डलाई सबैभन्दा उपयुक्त भनेको एमालेनै हो । प्रचण्डले अब संगठन गरेर हिँड्ने पक्षमा छैनन् । माओवादीको नेतृत्व प्रचण्डले भन्दा अरुले अगाडि बढाउन सक्दैनन् ।

माओवादीमा कृष्णबहादुर महरा, वर्षमान पुन, जनार्दन शर्माले मात्रै नेतृत्व दिने हैसियत र क्षमता राख्छन् । प्रचण्डले उनीहरूलाई अहिले नै पार्टीको नेतृत्व दिन चाहँदैनन् । बरु कांग्रेससँग सत्ता सहकार्य गरेर आफू अनुकूलका निर्णय गरे गतिविधि गरेर जाने पक्षमा प्रचण्ड देखिएका छन् ।

अन्तिम समयमा प्रचण्डले कांग्रेसलाई धोका दिने कुरा पक्का छ । कांग्रेसका सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवालाई यो कुरा राम्रोसँग जानकारी छ । देउवाले प्रचण्डलाई किन विश्वास गरिरहेका छन् । रहस्यको विषय छ ।

देउवालाई प्रचण्डले निरिह बनाएको चर्चा पनि छ । माधव नेपालको एकीकृत समाजवादी र उपेन्द्र यादवको जसपाका बाहेक कांग्रेस र माओवादीका मन्त्रीहरूलाई लिएर मन्त्रिपरिषद विस्तार गर्न पनि सकिन्थ्यो । प्रचण्डको असहयोगले त्यो पनि समयमा हुन सकेन । एमालेले यो विषयलाई जोडतोडले उठाइरहेको छ । देउवाले आफूलाई कहाँबाट असहयोग भइरहेको छ भन्ने कुरा बुझ्नुपर्छ ।

माधवकुमार नेपाल सहयोगी छन् । ओलीका कारण तनावमा रहेका नेपाललाई समस्या हुनु स्वभाविक हो । प्रचण्डलाई समस्या छैन । प्रचण्डले कांग्रेस र प्रधानमन्त्री देउवा सफल भएको देख्न चाहेका छैनन् । ओलीलाई जसरी प्रधानमन्त्रीमा असफल बनाए त्यसैगरि प्रचण्डले देउवालाई पनि असफल बनाउने योजनामा रहेको चर्चा छ । देउवा असफल हुनु हुँदैन । देउवाले प्रचण्डका सबै योजना असफल बनाइदिनुपर्छ ।

आवश्यक पर्दा एमालेसँग सहकार्य गरेर अगाडि बढ्ने हैसियत पनि राख्नुपर्छ । प्रचण्डभन्दा ओली बलियो अवस्थामा छन् । कांग्रेसलाई ओलीभन्दा खतरा प्रचण्डसँग छ । प्रचण्डको कुनै भर र विश्वास छैन ।

Published : Thursday, 2021 September 16, 6:34 am

फेसबुकबाट तपाईको प्रतिक्रिया