कांग्रेसको लफडावाला काम फत्ते

काठमाडौं । नेपाली कांग्रेसको विवाद समाधान समितिले थप ७ वटा जिल्लाको क्रियाशील सदस्यता विवादको टुंगो लगाएको छ ।

काठमाडौंमा आन्तरिक बैठक र परामर्शबाट नेताहरू ७ वटा जिल्लाको क्रियाशील सदस्यताको विवाद मिलाएको हो ।

कांग्रेसले यसअघि ५७ जिल्लाको क्रियाशील सदस्यता विवरण सार्वजनिक गरिसकेको छ । अब १३ जिल्लाको क्रियाशील सदस्यता विवाद समाधान गर्न बाँकी छ ।

बाँकी १३ जिल्लाको विवाद पनि समाधान गरी छिट्टै पार्टीको केन्द्रीय निर्वाचन समितिलाई विवरण बुझाइनेछ ।

क्रियाशील सदस्यता विवरण प्राप्त भएपछि समितिले बाँकी जिल्लामा वडा अधिवेशन गर्नेछ ।

कांग्रेसका करीव ९ लाखको संख्यामा कांग्रेसका क्रियाशील सदस्य छन् ।

२० जिल्लामा गाउँ र नगर वडा अधिवेशन आगामी असोज ५ गतेभित्र सम्पन्न गर्न तोकिएको छ ।

गाउँ र नगरपालिका अधिवेशन असोज ९ गते हुनेछ । प्रदेश सभा क्षेत्रीय अधिवेशन असोज १२ गते हुनेछ ।

प्रतिनिधि सभा क्षेत्रीय अधिवेशन÷एक मात्र प्रतिनिधि सभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन असोज १८ गते निर्धारण गरिएको छ ।

एकभन्दा बढी प्रतिनिधि सभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन असोज १८ गते तोकिएको छ ।

कांग्रेसले प्रदेश अधिवेशन कात्तिक १० देखि १२ गतेसम्म र केन्द्रीय महाधिवेशन आगामी मंसिर ९ देखि १३ गतेसम्म गर्ने निर्णय गरेको छ ।

सभापति शेरबहादुर देउवाले छिटोभन्दा छिटो क्रियाशील सदस्यताको विवाद सहमतिमा समाधान गरेर वडा अधिवेशनहरू सम्पन्न गर्न मातहतलाई निर्देशन दिँदै आएका छन् । देउवा १४औँ महाधिवेशनप्रति निकै सम्वेदनशील बनेका छन् ।

Published : Wednesday, 2021 September 15, 7:56 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया