निर्देशक बेल्वासेको ‘प्रेमनाथ’ युट्युबबाट रिलिज

काठमाडौं । गणेश बेल्वासेद्वारा निर्देशित नेपाली चलचित्र ‘प्रेमनाथ’ युट्युबमा रिलिज भएको छ ।

बुढासुब्बा डिजिटलको युट्युबमार्फत रिलिज भएको ‘प्रेमनाथ’ले राम्रो प्रतिक्रिया पाएको छ । निर्देशक एवम् कलाकार बेल्वासेले कोरोना महामारी र विभिन्न कारणले गर्दा चलचित्रलाई युट्युबबाट रिलिज गरिएको बताए ।

‘कोरोना महामारी छ । चलचित्र हलहरू बन्द छन्’, उनले भने, ‘रिलिजको तयारी भइरहेका बेला विगत दुई वर्षदेखि कोरोना महामारीले समस्या बनायो । चलचित्रलाई त्यसै राख्नुभन्दा युट्युबमा जोखिम मोलेर रिलिज गरेका छौँ ।’

युट्युबबाट चलचित्रहरू रिलिज गर्न निर्माता र निर्देशकहरू डराइरहेका बेला बेल्वासेले ‘प्रेमनाथ’लाई रिलिज गरेर जोखिम उठाएका छन् ।

कोरोना महामारीबाट निर्देशक बेल्वासे पनि समस्यामा परेका छन् । कोरोनाले चलचित्रको लगानी नै नउठ्ने अवस्थामा पुगेको उनको भनाइ छ ।

‘सरकारले चलचित्रहरूलाई सहुलियत दिनुपर्छ । विभिन्न राहतका कार्यक्रम दिनुपर्छ’, निर्देशक बेल्वासेले भने, ‘कोरोनाकै कारण चलचित्रहरू डुबेका छन् । डुब्ने अवस्थामा छन् ।’

सरकारले अहिलेसम्म चलचित्र र चलचित्रकर्मीका लागि उपयुक्त राहत कार्यक्रम ल्याउन नसकेको भन्दै चिन्ता जनाएका छन् ।

‘प्रेमनाथ’ बेल्वासेको दोस्रो चलचित्र हो । यसअघि उनले ‘उहिले बाजेको पालामा’ नामक चलचित्र निर्माण गरेका थिए । ‘प्रेमनाथ’की निर्मात्री गुहेश्वर बेल्वासे हुन् ।

चलचित्रको कथा निर्देशक बेल्वासे आफैले लेखेका हुन् । चलचित्रमा गोपालबहादुर बेल्वासे, शशि बेल्वासे, बसन्तराज भट्ट, राजु केसीको विशेष सहयोग गरेको छ ।

‘प्रेमनाथ’मा बेल्वासेको नकारात्मक अभियन रहेको छ । कमल गाउँले, राज थापा, कृति गौतम, मीयुन जिरेल, मोनालिसा विष्ट, सुरवीर पण्डित, पूजा रिजाल, शेखरजंग मल्ल, सम्झना भेटवाल, गजित विष्ट, नवीन श्रेष्ठलगायतको अभियन रहेको छ ।

चलचित्रमा संगीत सन्तोष श्रेष्ठ, भुपु पाण्डे र एसडी योगीले दिएका छन् । राजेशपायल राई, बेनुका राई, भुपु पाण्डे, सुरुची पन्थी, अञ्जली पटेल, एडी योगी र चित्रवीर जिसीको स्वर रहेको छ ।

Published : Wednesday, 2021 September 15, 8:35 am

फेसबुकबाट तपाईको प्रतिक्रिया