इलाम कांग्रेसको सभापतिमा कडा टक्कर, गुरुङ र परियारको समर्थन कसलाई ?

इलाम । वडा अधिवेशन सम्पन्न भएसँगै नेपाली कांग्रेस इलामको सभापतिमा चार जनाको दाबी परेको छ ।

वर्तमान सभापति हिमालय कर्माचार्य, भेषराज आचार्य, केशव थापा र डम्बर खड्काले १४औँ महाधिवेशनमा इलामको सभापतिमा उम्मेदवार बन्ने घोषणा गरेका हुन् ।

कर्माचार्य विभिन्न समयमा गरि इलाममा तीन पटक सभापति बनिसकेका छन् । कर्माचार्यले चौथो पटक सभापति बनेर इलाम कांग्रेस ध्वस्त बनाउने योजनामा रहेको आरोप छ ।

कर्माचार्य क्षेत्र नं. १ मा एमालेका झलनाथ खनालसँग प्रतिनिधि सभामा प्रतिस्पर्धा गरेर नराम्रोसँग पराजित भएका थिए । प्रतिनिधि सभामा पराजित भएका कर्माचार्य पुनः स्थानीय तहको निर्वाचनमा आफै घटुवा भएर इलाम नगरपालिकाको मेयरमा उम्मेदवार बनेर कम्युनिस्टसँग नराम्रोसँग पराजित भएका थिए ।

कर्माचार्यका कारण इलाममा कांग्रेसले पराजय भोग्नु परेको आरोप छ । कर्माचार्य व्यापार व्यवसायमा पनि संलग्न छन् ।

०४८ सालको जनआन्दोलनमा कांग्रेसका नेता कार्यकर्ताहरूले प्रहरीको लठ्ठी खाने बेलामा कर्माचार्य पञ्चायतमा थिए । उनी पूर्व प्रधानपञ्च पनि हुन् ।

सभापतिका अर्का उम्मेदवार डम्बर खड्का ठेकेदार हुन् । दोलखा जिल्ला पुर्ख्यौली थलो भएका खड्का सामन्य परिवारबाट कांग्रेसको राजनीतिमा उदाएका नेता हुन् । खड्का पनि प्रदेश सभा निर्वाचनमा नराम्रोसँग पराजित भएका थिए ।

ठेकेदार खड्कासँग अरबौको सम्पत्ति छ । आफूभन्दा सिनियर नेताको सम्मान गर्ने ढंग खड्कासँग छैन भनेर इलाममा कांग्रेसभित्र आलोचना हुने गरेको छ ।

केशव थापा पूर्वराज्यमन्त्री हुन् । भेषराज आचार्य किसानका छोरा हुन् । कर्माचार्य र खड्काभन्दा थापा र आचार्य त्यागी, इमान्दारका रुपमा इलाम कांग्रेसमा चिन्ने गरिन्छ । तैपनि अन्तिममा इलाम कांग्रेसको सभापतिमा महामन्त्री शशांक कोइरालाको तर्फबाट कर्माचार्य र सभापति शेरबहादुर देउवाको तर्फबाट खड्काले उम्मेदवारी दिने चर्चा छ ।

इलामका १० वटा नगरपालिका र गाउँपालिका छन् । चुलाचुली गाउँपालिकामा सभापतिमा सर्वसम्मत हुने सम्भावना छ । बाँकी ९ वटा नगरपालिका र गाउँपालिकामा निर्वाचन हुने निकै सम्भावना छ ।

इलाम नगर सभापतिमा निर्मल राउत, सोमनाथ सुसेली, तीर्थराज गुरुङ, लीलाप्रसाद थापा र अमृतलाल श्रेष्ठले दाबी गरेका छन् । सूर्योदय नगर सभापतिमा मणि गुरुङ, सोनाम छिरिङ काजी, सुरेन्द्र पौडेल, र जीवनकुमार नेपालले उम्मेदवारी घोषणा गरेका छन् । रोङ गाउँपालिकामा देवीप्रसाद आचार्य, हरि बुढाथोकी र मणिकुमार तामाङले सभापतिमा दाबी गरेका छन् ।

देउमाई नगर सभापतिमा दिलिप कार्की, कृष्ण बराल र भवानी साङपाङले दाबी गरेका छन् । सन्दकपुर गाउँपालिकामा तुला गुरुङ, नेत्र रिजाल र धनबहादुर खाम्दाकले सभापतिमा प्रतिस्पर्धा गर्ने पक्का छ ।

माइजोगमाई गाउँपालिकाको सभापतिमा नरेन्द्र देवान, भोला भण्डारी र देव चापागाइँको दाबी रहेको छ । फाकफोकथुम गाउँपालिकामा टेकवीर नेम्वाङ, रामकुमार श्रेष्ठ, र डिगबहादुर थापाले सभापतिमा दाबी गरेका छन् ।

माई नगरको सभापतिमा पुष्प गिरी र हेमबहादुर लिम्बुले उम्मेदवारी घोषणा गरेका छन् । माङसेबुङ गाउँपालिकामा चन्द्र साँवा र अमरकुमार राईले सभापतिमा उम्मेदवारी घोषणा गरेका छन् ।

दुई वटा प्रतिनिधि सभा निर्वाचन रहेको इलामको क्षेत्र नं. १ मा क्षेत्रीय सभापतिका लागि शमशेर राई, दुर्गा बराल र भीष्म प्रधानले सभापतिमा उम्मेदावरी घोषणा गरेका छन् । क्षेत्र नं. २ को क्षेत्रीय सभापतिका लागि डिकेन्द्र इदिङ्गो, नूतनदेव दुलाल र मानबहादुर बुढाथोकीले उम्मेदवारी घोषणा गरेका छन् ।

प्रदेश सभा निर्वाचन क्षेत्रमा पनि नेताहरूले उम्मेदवारी घोषणा गरेका छन् । क्षेत्र नं. २ ‘क’को सभापतिमा रमेशचन्द्र सुवेदी र मिलन क्षेत्रीले उम्मेदवारी घोषणा गरेका छन् । क्षेत्र नं. १ ‘ख’को सभापतिमा निष्कल राई, मोहनबहादुर बस्नेत र श्याम कार्कीले दाबी गरेका छन् ।

क्षेत्र नं. २ ‘क’को सभापतिमा गोपाल चौहान, राजेन्द्र बास्तोला र श्याम श्रेष्ठ मैदानमा देखिएका छन् । क्षेत्र नं. २ ‘ख’को सभापतिमा खगेन्द्र योङहाङ ‘राजु’, पम्फा पुलामी, राजन खनाल, पदम मेवा, सुवास आङथोपो, लक्ष्मण राई, उपेन्द्र पौडेल र कमलबहादुर कार्कीको चर्चा छ ।

गुरुङ र परियारको समर्थन कसलाई ?

इलामबाट केन्द्रीय राजनीतिमा प्रतिनिधित्व गर्ने कुलबहादुर गुरुङ (केबी) र सुजाता परियारको पनि इलाम कांग्रेसको राजनीतिमा प्रभाव राख्छन् । गुरुङ र परियारले साथ दिने नेताहरू नै इलाममा सभापति बन्ने पक्का छ ।

पूर्व महामन्त्री एवम् पूर्वमन्त्री गुरुङ कांग्रेसको राजनीतिमा निकै सिनियर मानिन्छन् । गुरुङका सामु पूर्वप्रधानमन्त्री झलनाथ खनाल र एमालेका नेता सुवास नेम्वाङले समेत सम्मान गर्छन् । गुरुङले कसलाई समर्थन गर्ने हुन् खुलेका छैनन् ।

केन्द्रीय सदस्य एवम् प्रतिनिधि सभाकी सांसद सुजाता परियारको पनि इलाममा प्रभाव छ । दुई–दुई पटक केन्द्रीय सदस्य र सांसद बनेकी परियारले पनि इलाम कांग्रेसको राजनीतिलाई नजिकबाट हेरिरहेकी छिन् । सभापति देउवा निकट मानिने परियारले इलाम कांग्रेसमा सर्वसम्मत हुन सके राम्रो सन्देश जाने प्रतिक्रिया दिएकी छिन् ।

Published : Tuesday, 2021 September 14, 9:52 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया