पर्सामा प्रहरी र तस्करबीच झडप, गोली चल्यो

वीरगञ्ज । पर्सा जिल्लामा प्रहरी र काठ तस्करबीच झडप भएको छ । प्रहरीले तस्करसँगको झडपमा गोली चलाउनु परेको छ ।

सोमबार बिहान करिब ४ बजे पटेर्वासुगौली गाउँपालिका– ४ फरहदवामा झडप भएको हो ।

जंगलबाट काठ तस्करी गरी ल्याउँदै गरेका व्यक्तिहरूलाई रोकेर नियन्त्रणमा लिन खोज्दा झडप भएको प्रहरीले जनाएको छ ।

डीएसपी ओमप्रकाश खनालले तस्करी हुन लागेको सूचनापछि जिल्ला प्रहरी कार्यालयबाट दुई जना सादा पोशाकका प्रहरी खटिएका थिए ।

प्रहरीको संख्या कम देखेर ४ जना मोटरसाइकलमा सवार भएका ८ जना तस्करको समूहले ढुंगामुढा र लाठीसहित प्रहरीमाथि प्रहार गरेपछि प्रहरीले हवाई फायर गरेका थिए ।

प्रहरीले आत्मरक्षाका लागि ३ राउण्ड हवाई फायर गर्दा तस्कर फरार भएको डिएसपी खनालले बताए ।

तस्कर चढेको दुइटा मोटरसाइकल प्रहरीले नियन्त्रणमा लिन सफल भएको छ ।

बिआर २२ एफ ४१०८ भारतीय नम्बर प्लेट र ना ४० प ९३९६ नम्बरको मोटरसाकल र दुइटा काठको गोली प्रहरीले नियन्त्रणमा लिएको हो ।

घटना सम्बन्धमा थप अनुसन्धान गर्दै प्रहरीले फरार तस्करको खोजी कार्य गरिरहेको डिएसपी खनालको भनाइ छ ।

Published : Monday, 2021 September 13, 12:33 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया