सीआईबीद्वारा ‘बल्ला’ पक्राउ

काठमाडौं । प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) महाराजगञ्जले जबरजस्ती करणी र डाँका मुद्दाका फरार प्रतिवादी ४१ वर्षीय ‘बल्ला’ भन्ने रजावुल मियाँलाई पक्राउ गरेको छ ।

सुनसरी जिल्लाको इटहरी उप–महानगरपालिका–१७ पकली बस्ने मियाँलाई आइतबार प्रहरीले पक्राउ गरेको विज्ञप्तिमा उल्लेख छ ।

उक्त मुद्दामा उच्च अदालत विराटनगरको २०६८ असार ३० गतेको फैसलाले १४ वर्ष ५ महिना १२ दिन कैद सजाय र ६४ हजार ५ सय रुपियाँ जरिवाना ठहर भएको थियो ।

सजाय भएपछि फरार रहेका मियाँलाई ब्यूरोबाट खटिएको प्रहरीले उनकै घर ठेगानामा फेला पारी पक्राउ गरेको जनाएको छ ।

२०६४ भदौ १५ गते राति पीडितलाई डर त्रास देखाई जबरजस्ती करणी गरेर सुन लगायतका बहुमूल्य गहना समेत लुटेर फरार रहेको घटनामा दोषी ठहर भई उनलाई उक्त सजाय तोकिएको थियो ।

उनलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत मोरङ पठाइएको उक्त ब्यूरोले जनाएको छ ।

Published : Sunday, 2021 September 12, 8:45 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया