आइतबार सेयरमा मालामाल, ७१ अंकमा बाउन्स ब्याक

काठमाडौं । केही सातादेखि लगातार घट्दै आएको सेयर कारोबारमा आइतबार सुधार भएको छ ।

आइतबार नेप्सेमा एकै दिन ७१ अंकको बाउन्स ब्याक भएको छ । नेप्से भदौ २ गते ३१९९.०३ अंकको ऐतहासिक उचाइँमा पुगेको थियो । त्यसपछि आरालो लागेको थियो ।

आइतबार प्रि ओपन सेसनबाट नै हरियाली देखिएको सेयर बजारमा नेप्से ७१.४३ अंकको उच्च वृद्धि हुँदा २९४७.४२ अंकमा बन्द भएको छ ।

बजार परिसूचकसँगै सबै उपसूचकमा हरियाली छाएको छ । आइतबार नेप्सेमा म्युचुअल फन्डबाहेक सबै उपसूचकमा हरियाली हुँदा हाइड्रोपावर उपसूचक ६.३७, विकास बैंक उपसूचक ५.१३ प्रतिशत, उत्पादनमूलक उपसूचक ४.५१ प्रतिशत, वित्त कम्पनी उपसूचक ४.०८ प्रतिशत र निर्जीवन बिमा उपसूचक ३.२७ प्रतिशतले बढेको छ ।

बजारलाई लिड गर्ने बैंकिङ उपसूचक भने १.२५ प्रतिशले मात्रै बढेको छ ।

नेप्सेलाई कम्पनीले तानेका छन् । उपसूचकमा सबैभन्दा धेरै वृद्धि भएको हाइड्रोपावर कम्पनीले नै कारोबार रकममा पनि लिड गरेका छन् ।

नेप्सेमा एक करोड ५७ लाख ८९ हजार २०९ कम्पनीको आठ अर्ब ७३ करोड १७ लाख ७३ हजारको कारोबार भएको छ । जसम्मध्ये अरुण भ्याली हाइड्रोपावरको सर्वाधिक ७३ करोड ७७ लाख नौ हजारको कारोबार भएको छ ।

युनाइटेड मोदी हाइड्रोपावरको ४५ करोड ११ लाख १७ हजार, अपी पावरको ३१ करोड ५१ लाख ६४ हजार, नेसनन हाइड्रोपावरको ३९ करोड ३४ लाख ७७ हजार र अपर तामाकोको २५ करोड ७२ लाख १३ हजारको कारोबार भएको छ ।

सेयर बजारमा हरियाली छाउँदा आइतबार नेप्सेमा कारोबार भएका अधिकांश कम्पनीको सेयर मूल्य बढेको छ । १८५ कम्पनीको सेयर कारोबार भएकोमा १७१ कम्पनीको सेयर मूल्यमा वृद्धि हुँदा १२ कम्पनीको मात्रै घटेको छ । दुई कम्पनीको सेयर मूल्य भने स्थिर रह्यो ।

नेप्सेमा १० कम्पनीको सेयर मूल्य बढेर सर्किट लेभलमा बन्द भएको छ । जसमध्ये सात जलविद्युत् कम्पनी रहेका छन् भने राष्ट्रिय बिमा कम्पनी, फर्स्ट माइक्रोफाइनान्स र सानिमा लाइफको सेयर मूल्य पनि सर्किट लेभलमा बन्द भएको छ ।

Published : Sunday, 2021 September 12, 4:00 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया