शशांकले कोइराला परिवारको विरासत थाम्ने, नवलपुरबाट एकलौटी रुपमा शक्तिशाली घोषणा

देवचुली । नेपाली कांग्रेसका महामन्त्री शशांक कोइरालाले नवलपुर आफ्नो गृहजिल्ला रहेको भन्दै गृहजिल्लाबाट १४औँ महाधिवेशनका लागि पार्टी सभापतिमा उम्मेदवारी घोषणा गरेको जनाएका छन् ।

शनिबार पूर्वी नवलपरासीको देवचुली नगरपालिका दलदलेमा नेपाली कांग्रेस नगर कार्यसमितिले निर्माण गरेको वीपी स्मृति भवनको उद्घाटन गर्दै कोइरालाले पार्टी सभापतिमा उम्मेदवारी घोषणा गरेका हुन् ।

‘नवलपुर जिल्ला मेरो गृहजिल्ला भएकाले मैले गृहजिल्लाबाट सभापतिका लागि उम्मेदवारी दिने घोषणा गरेको छु’, महामन्त्री कोइरालाले भनेका छन्, ‘गिरिजाबाबुले केही महत्वपूर्ण निर्णय लिँदा विराटनगर गएर घोषणा गर्नु हुन्थ्यो । मैले पनि नवलपुरमा आएर सभापतिमा घोषणा गरेको छु ।’

महामन्त्री कोइरालाले १४औँ महाधिवेशनपछि कांग्रेस पार्टीले सबै तहका निर्वाचनहरूमा जित्ने बताएको नेपाल तरुण दल नवलपुरका नेता सुरज गुरुङले जानकारी दिए । कोइरालाले महाधिवेशन समयमा हुने भन्दै महाधिवेशनमा जुट्न आह्वान गरेका छन् ।

महामन्त्री कोइरालाले सभापति पदमा उम्मेदवारी घोषणा गरेपछि वरिष्ठ नेता रामचन्द्र पौडेल समूहभित्र नयाँ तरंग उत्पन्न भएको छ । शशांक कोइरालाले आफूलाई कोइराला परिवारको विरासतका रुपमा अगाडि सारेको संकेत गरेका छन् ।

शशांक कोइरालाद्वारा सभापति पदमा उम्मेदवारी घोषणा गरेपछि नेताहरू रामचन्द्र पौडेल, प्रकाशमान सिंह, शेखर कोइराला लगायतभित्र खैलाबैला मच्चिएको छ ।

नेपाली कांग्रेस देवचुली नगर कार्यसमितिका सभापति पूर्णकुमार श्रेष्ठले पाँच वर्षको कार्यकाल सकिँदै गर्दा हालसम्म भएको प्रगति विवरणहरू प्रस्तुत गरेका थिए ।

कार्यक्रममा वीपी अध्ययन प्रतिष्ठान नवलपुरकी अध्यक्ष विष्णु पाण्डे, नेपाली कांग्रेस गण्डकी प्रदेश संसदीय दलका प्रमुख सचेतक ओमकला गौतम, पूर्वसांसद महेन्द्रध्वज जिसी, पार्टी सभापति विष्णु लामिछाने लगायतले १४औं महाधिवेशनमा सबल नेतृत्व चयन गरि आगामी निर्वाचनमा कांग्रेसको बहुमतको सरकार हुने विश्वास व्यक्त गरेका छन् ।

वीपी स्मृत भवन निर्माण समितिका संयोजक दयाराज तिवारीले भवन निर्माणको आयव्यय प्रस्तुत गरेका थिए । कांग्रेसका नेता गणेश सापकोटाको ‘नेपाली राजनीतिमा नेपाली कांग्रेस’ नामक किताबको बिमोचन गरिएको थियो ।

कार्यक्रममा नगरका ४२ जनाले विभिन्न पदका लागि उम्मेदवारी घोषणा गरेका छन् । नगरको अधिवेशन असोज ९ गते हुँदैछ । देवचुली नगरको राजनीतिक वृत्तमा फेरि सरगर्मी बढेको छ । उप–सभापति रविलाल सापकोटाले स्वागत मन्तव्य राखेका थिए ।

Published : Saturday, 2021 September 11, 9:02 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया